खेलकुद विकासमा महानगरको बजेट

पोखराको खेलकुदको पुर्वाधार निर्माणमा पोखरा महानगरपालिकाले सक्रियता देखाएको छ । केही पुर्वाधारलाई आफैंले टेण्डर प्रक्रियामा लगिसकेको छ भने केही पुर्वाधारको लागि आवश्यक टेण्डर प्रक्रियामा लैजाने तयारी गरिरहेको छ । एक वडा एक खेलमैदानको नीति समेत अबलम्बन गरेको महानगरपालिकाले २३ वडामा भलिबल र बास्केटबल कोर्ट निर्माण गरिसकेको छ ।

राष्ट्रिय खेलकुद परिषदको बजेटबाट फाउण्डेशनसम्मको काम टुंगिएर अलपत्र परेको लेखनाथ भण्डारढीकस्थित बहुउद्देश्यीय कभर्ड हल निर्माणको लागि बजेट छुटाएको छ । लामो समय अलपत्र परेको कभर्डको लागि संसद विकास कोष मार्फत उपलब्ध २५ लाख रुपैयाँबाट पिलर ठड्याईएको छ । पोखरा महानगरले खेलकुदको अलपत्र पुर्वाधार पुरा गर्न एक करोड रुपैयाँ छुट्टाएको छ । ‘महानगरपालिकाले टेण्डर गरिसकेको छ । टेण्डरको म्याद छ । इच्छाएको कम्पनीले काम गर्ने छन् ।’ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने–‘केही दिनभित्रैमा टेण्डर प्रक्रिया टुग्याएर कामको जिम्मेवारी दिन्छौ ।’

भण्डारढीक खेलमैदानमै खुल्ला व्यायामशालाको लागि महानरपालिकाले यसै आर्थिक वर्षमा ५३ लाख रुपैयाँ छुट्टाइको छ । लेखनाथकै भवानी कालिका माध्यमिक विद्यालयको खेल मैदान स्तरोन्नति गर्न २० लाख रुपैयाँ उपलब्ध गराएको छ । विष्णु पादुका क्लब हेमजाको खेल मैदानको लागि महानगरपालिकाले ३० लाख रुपैयाँ निकासा गरिदिएको छ । लेखनाथस्थित जनता पार्कमा खुल्ला व्यायामशालाको लागि ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । उपलब्ध गराईएको बजेट अनुसार कामले तिब्रता पाएका छन् ।

महानगरपालिकाले पोखरा–१३ मा खेलकुदको पुर्वाधार बनाउन १ करोड रुपैयाँ उपलब्ध गराईसकेको छ । उपलब्ध गराईएको बजेटबाट डाडाँ खारेर जमिन सम्याउने काम अघि बढाइएको उनको भनाई थियो । पोखरा–३ नदीपुरस्थित नारायणथान खेल मैदानको लागि समेत महानगरपालिकाले १० लाख रुपैयाँ छुट्टाएको छ । अन्य विभिन्न १६ वटा ठाँउमा व्यायामशालाका सामाग्री राखिने तयारी समेत गरिएको छ । त्यसको लागि ५० लाख रुपैयाँ छुट्टाइएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा पोखरा–२० मौजामा उचाईको फुटबल मैदानको लागि ५० लाख रुपैयाँ छुट्टाएको छ । ‘महानगरपालिकाले डिपिआर तयार गरिसकेको छ’ –उनले भने–‘फुटबल मैदानसहित अन्य खेलकुदका पुर्वाधारलाई डिपिआरमा समेटिएको छ ।’ उनका अनुसार योजना पुरा हुदाँ १६ करोड रुपैयाँ खर्च हुने छ ।

मौजा महानगरपालिकाको दुर्गम वडाको रुपमा चिनिन्छ । सडक सञ्जालले छोएपनि प्रभावकारी भने छैन् । बजार क्षेत्रदेखि केही टाढा रहेको मौजामा फुटबल मैदान बनाउन गत वर्ष नै साढे ८ लाख रुपैयाँ खर्च गरिएको थियो । रकम भिरालो जमिन कटान गरी सम्याउन खर्च गरिएको थियो । यद्यपी डिपिआर तयार नहुदाँ कामलाई थाँती राखियो । ‘फुटबल मैदानसहित प्यारापिट निर्माण हुन्छ ’ उनले भने–‘त्यसबाहेक बास्केटबल र भलिबल कोर्ट समेत बनाईने छ ।’ भिरालो जमिनकै कारण ल्याण्डस्केप गरी निर्माण गरिने छ । विस्तृत परियोजना प्रतिवेदन अनुसार पुर्वाधारले झण्डै ५६ रोपनी क्षेत्रफल ओगट्ने देखिन्छ । पार्किङको समेत व्यवस्था हुने छ ।

महानगरपालिकाकै बजेटमा राष्ट्रिय खेलकुद परिषदको योजनामा लगानी थप्दै होस्टेमा हैंसे समेत गरेको छ । उपभोक्ता समिति मार्फत काम गरेको छ । राष्ट्रिय खेलकुद परिषद तथा स्थानीयको सक्रियतामा निर्माणाधिन लामाचौर गोस्ते फुटबल मैदानको लागि पोखरा महानगरपालिकाले यो आर्थिक वर्षमा ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । उपलब्ध गराइएको बजेटलाई स्थानीय उपभोक्ता समितिले काम गरिरहेका छन् । परिषदले पनि मैदानको लागि एक करोड रुपैयाँ यसैआर्थिक वर्षमा उपलब्ध गराउने जनाएको छ ।

kheladinews.com