ब्रिगेड ब्वाइज क्लबमाथि थ्री स्टारको सहज जित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको पहिलो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको १५ औँ मिनेटमा सुशान्तले गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ४१ औँ मिनेटमा अनन्तले गोल गर्दै थ्रीस्टारलाई २–० को अग्रता दिलाए । त्यस्तै खेलको ५८ औँ मिनेटमा थ्रीस्टारका हाजमातले एक गोल थप्दै ३-० को अग्रता दिलाएका हुन ।

ब्रिगेड ब्वाइजका खेलाडी रोशन रानामगरले खेलको ८९ औँ मिनेटमा १ गोल फर्काउन सफल भए ।

जीतसँगै थ्रीस्टारले पाँच खेलमा १० अङ्क जोडेर लिगको तेस्रो स्थानमा उक्लियो । पराजित ब्रिगेड ब्वाइज ५ खेलमा ६ अङ्कका साथ सातौ स्थानमा छ ।