गत मंसिर २८ गते मादक पदार्थ सेवन गरी पैदल यात्री लीला देवकोटालाई ठक्कर दिई मार्ने कारमा नायिका परमिता राज्यलक्ष्मी राणा पनि सवार रहेको खुलेको छ ।
बुढानीलकण्ठमा सडकपेटीमा हिँडिरहेकी गोरखाकी लीला देवकोटालाई ठक्कर दिने बा १४ च ६१२३ नम्बरको सुजुकी कारमा आफु पनि सवार रहेको खुलाउदै राणाले फेसबुकमार्फत माफी मागेकी छिन् ।
दुर्घटनाको समयमा चार जना यात्रु रहेको बताइएको थियो । जसमा चालक पृथ्वी मल्ल, यात्रुहरुमा करिश मास्के र एलिना थापाको नाम प्रहरीले खुलाएको थियो । चौथो यात्रुको नाम गुप्त राखेको थियो ।
ठक्कर दिने कारका चालक पृथ्वी मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक मल्लमाथि प्रहरीले सवारी ज्यानमुद्दामा अनुसन्धान गरिरहेको छ।
घटनाको २६ दिनपछि परमिताले नसामा गाडी हाँकेको र चारजनाको मूर्खताले निर्दोष व्यक्तिको ज्यान गएको स्वीकार्दै घटनाले आफु स्तब्ध भएको बताएकी छिन् ।






