चित्रकार रञ्जितलाई १२ संस्थाको श्रद्धाञ्जली

वरिष्ठ चित्रकार किरण रञ्जितको १३ औं दिनको पुण्यतिथिमा बुधबार रामबजारस्थित श्रीकृष्ण मन्दिरमा उनी आवद्ध १२ वटा संघ संस्थाले श्रद्धाञ्जली सभा गरेका छन् । ५७ वर्षको उमेरमा हृदयघात भई रञ्जितको निधन भएको थियो ।

कृष्ण मन्दिर सञ्चालक समिति रामबजार, सिर्जनशील कलाकार समूह पोखरा, हेरालो प्रतिष्ठान कास्की, राममन्दिर सञ्चालक समिति रामबजार, लायन्स क्लब अफ पोखरा आँगन, संगम वचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्यसाई भजन समूह रामबजार, कृष्णमन्दिर आमा समूह, रामबजार टोल सुधार समिति, रामबजार ताया मचा नाच समिति, पोखरेली युवा सांस्कृतिक परिवार पोखरा, नेवा मिसा पुच रामबजारले कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले श्रद्धाञ्जली व्यक्त गर्दै पोखराले स्वाभिमानी चित्रकार गुमाएको बताए । कलाकारितामार्फत पोखरालाई परिचित गराएका स्वर्गीय रञ्जितले पोखरा आर्ट ग्यालरी निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनले स्मरण गरे । स्वर्गीय रञ्जितका चित्रलाई आफूले कोसेलीका रुपमा देश परदेशमा पु¥याउँदै आएको पालिखेले सुनाए ।

हेरालो प्रतिष्ठानका अध्यक्ष नीरज थापाले वरिष्ठ र असल चित्रकार गुमाएको बताए । असल अभिभावक, असल श्रीमान, सबैले प्रसंशा गर्ने चित्रकार र सबैको आदर्श व्यक्तित्व किरण रञ्जितको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको उनको भनाइ थियो।

उक्त कार्यक्रममा संगम बचत तथा ऋण सहकारीको शेयर सदस्य समेत रहेका स्वर्गीय रञ्जितको परिवारलाई सहकारीको तर्फबाट १५ हजार राहत रकम र समवेदना पत्र हस्तान्तरण गरिएको थियो। सहकारीले आफ्नो सेयर सदस्यको निधनमा राहत रकम सहयोग गर्दै आइरहेको सहकारीका अध्यक्ष नीरज थापाले जानकारी दिए ।

कार्यक्रममा संगीतकार नवराज बराल, लायन्स क्लब अफ पोखराका रामनारायण श्रेष्ठ, नेवा मिसा पुचकी शर्मिला प्रधानांगले स्वर्गीय रञ्जितको योगदानबारे चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रीकृष्णमन्दिर सञ्चालक समितिका संरक्षक गणेशकुमार प्रधानको अध्यक्षता र अध्यक्ष ज्ञानबहादुर थापाको सञ्चालनमा भएको कार्यक्रममा सहभागीले स्वर्गीय रञ्जितको तस्बिरमा पुष्र्पापण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।