क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीकोे बन्द प्रशिक्षण पोखरामा हुने भएको छ । प्रशिक्षण मिति तय नभए पनि यसै साताबाट शुरु हुने बताइन्छ ।

आगामी फेब्रुअरी ५ देखि १२ तारिखसम्म हुने विश्वकप छनोट लिग–२ का लागि प्रशिक्षण हुन लागेको हो । प्रतियोगितामा नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक शृंखला हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले विश्वकप छनोट लिग–२ को तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण पोखरामा गर्न लागेको बताए ।

टियु क्रिकेट मैदानमा पिच तथा आउटफिल्डको काम भइरहेकाले उक्त मैदानमा प्रशिक्षण गर्न समस्या भएको चन्दले बताए ।

नेपाली टोलीमा रहेका प्रायः खेलाडीहरु इटहरीमा जारी मनमोहन मेमोरियल कप एकदिवसीय खेलमा रहेको भन्दै अध्यक्ष चन्दले १/२ दिनमा प्रशिक्षणको मिति तय गर्ने बताए ।