प्रेम विवाह गरेकी पत्नी दलित परेपछि हत्या

उदयपुरको कटारी नगरपालिकामा बुहारी दलित भएको थाहा पाएपछि परिवार नै मिलेर हत्या गरेको आरोपमा २ बर्षपछि प्रहरीले श्रीमान, ससुरा र देवरलाई पक्राउ गरेको छ ।

२०७४ साल कार्तिक १४ गते सिम्लेस्थित जंगलमा सढेको अवस्थामा शव फेला परेको उदयपुरगढी ५ बाहुनीटारकी १७ वर्षीया संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले हत्या गरेको रहस्य पत्ता लागेपछि पक्राउ गरेको हो ।

फोन सम्पर्कबाट आपसमा सम्बन्ध जोडेका युवराज र संगिताले भागी बिवाह गरेको र पछि संगीता दलित भएको खुलेपछि परिवारका सदस्य नै मिलेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

कटारीबाटै सुजनलाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धानपश्चात ससुरा नैनबहादुर र पति युवराज कार्कीलाई काठमाडौंको कपनबाट गत २३ मंसिरमा नियन्त्रणमा लिइएको डिएसपी प्रेमसागर केसीले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको र जिल्ला अदालत उदयपुरमा आइतबार पेश गरिएको छ । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको डिएसपी केसीले बताए ।