छोरीको हत्या आरोपमा आमासहित ४ जना पक्राउ

गाउँकै युवकसँग प्रेम सम्बन्ध राखेको निहुँमा आफनै १५ वर्षीया छोरी पुनिता कुमारीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका(९ शिवबर्वाकी पुनिताको आमा ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र ट्याक्टर चालक वडा नम्बर ८ बस्ने १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव रहेका छन् ।पुनिताका बुवा वीरेन्द्र दास तत्वा भने फरार रहेको पर्सा प्रहरीले जनाएको छ ।

गाउँकै एक युवकसँग प्रेम सम्बन्ध रहेको सुइको पाएपछि समाजमा परिवारको बेइज्जत हुने डरले परिवारका सदस्यले पुनिताको हत्या गरी जलाइ दिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

पुनिता कुमारीको हत्या गरी खोला नजिक गाडेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले पुनिताको शव जलाएर बचेको शरीरको आंशिक भागहरु केही पर गाडेको अवस्थामा फेला परेको थियो । गाडेको ठाउँबाट शरीरको भाग उत्खनन् गरी घटनास्थल शवजाँच मुचुल्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।