दुर्घटनामा कांग्रेस महासमिति सदस्य रायको मृत्यु

महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा मंगलबार बिहान बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ ।

काठमाडौंबाट आउँदै गरेको ना ५ ख ६४११ नम्बरको गङ्गोत्री बस उखु लोड गरी रोकिराखेको ना ४ ख ५८१३ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना हुँदा घाइते भएका रायको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।

महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थिए भने उनले प्रजातान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए ।

सोही दुर्घटनामा परी १८ जना अन्य कांग्रेसकै नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्रु पनि घाइते भएका छन् । उनीहरुको बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।