गुल्मीमा दुई बुहारी मिलेर सासुको हत्या

सुनका गहना लुट्ने योजनामा गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा दुई बुहारी मिलेर सासुको हत्या गरेका छन् ।

कोहि नभएको मौका पारि ७६ वर्षीया कौशीला बिकको उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर हत्या गरेका हुन् । छोरा विदेशमा रहेकाले बुहारी देवीसँगै बस्दै आएकी काौशिलाका श्रीमान घटना हुनेबेला मासु लिन गएका थिए ।

बुहारीहरुले पुस १७ गते कौशीलालाई गोठमा लगि दाउराले हानेर बेहोस बनाई नाक र कानमा लगाएका गहना लुटेको र गोरुले हानेर सासु घाइते भएको नाटक गरी छिमेकीलाई खबर गरेरका थिए ।

गम्भीर घाइते भएकी कौशीलाको उपचारको क्रममा बुटलस्थित प्रादेशिक अस्पतालमा गत १९ गते मृत्यु भएको थियो ।

मृतकको टाउकोमा लागेको चोट गोरुले हानेको जस्तो नदेखेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानका क्रममा दुई बुहारी मिलेर हत्या गरेको पुष्टि भएपछि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।