नापी सर्वेक्षक घुससहित पक्राउ

नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवान ७५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले नापी कार्यालयअन्तर्गत २ नं। नापी टोलीको कार्यालय वीरगञ्जबाट पासवानलाई सोमबार पक्राउ गरेको हो ।

वीरगञ्ज–९, रानीघाटस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक पासवानले जग्गा हाल साबिक गरी पुनः नापी जग्गाधनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस मागेको सूचनापछि स्ट्रिड अप्रेसन गरेर अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।