
अम्पायरको निर्णयप्रति गम्भीर तरिकाले असहमति जनाउँदा सन्दिप जोरालाई कारवाही गरिएको छ । एपीएफका ब्याट्सम्यान हुन् ।
सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न एपीएफ र एमएमसीसी इनरुवा बीचको खेलको दौरान उनीमाथि कार्वाही गरिएको हो ।
एपीएफका ब्याट्सम्यान सन्दिपले खेलाडी कोड अफ कन्डक्ट उल्लंघन गरेका कारण उनलाई आर्टिकल २।८ अन्तर्गत एउटा खेलको प्रतिबन्ध लगाईएको हो ।
जोराले एमएम कप प्रतियोगिता अन्तर्गत आगामी खेल खेल्न पाउने छैनन्। खेलपछि जोराले म्याच रेफ्रीसंग आफ्नो गल्ती स्विकार गरिसकेका छन् ।
खेलको २३ औं ओभरमा सरोज बस्नेतबाट एलबिडब्लु आउट भएपछि जोराले अम्पायरको निर्णय प्रति असन्तुष्टि देखाउँदै मैदानमा विवाद गर्न खोजेका थिए । उनि २१ बलमा १२ रन बनाएर आउट भएका थिए ।
नेपाली राष्ट्रिय टिमको लागि खेलिसकेका जोरा पछिल्लो समय राम्रो लयमा देखिएका छैनन् । एमएम कपकै अघिल्लो खेलमा आर्मीसंग पराजित हुँदा उनले २३ रन बनाएका थिए ।




