धरान महोत्सवमा पोखरेली टोली

धरान उपमहानगरपालिकाको स्थापना दिवसमा भएको धरान महोत्वसमा पोखरा महानगरपालिकाको टोली सहभागी भएको छ ।

पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपाली नेतृत्वको टोलीले पुस १८ देखि २० गतेसम्म भएको महोत्सवमा सहभागिता जनाएको हो । पोखरा र धरानबीच २०५७ सालमा सांस्कृतिक भागिनी सम्बन्ध कायम भएपछि दुवै नगरबीच सहयोग आदानप्रदान हँुदै आएको छ ।

प्रवक्ता नेपालीले धरान र पोखरा सहर भौगोलिक र सांस्कृतिक हिसाबले मिल्दोजुल्दो भएको बताए । उनले भ्रमण वर्ष २०२० लाई सफल पार्न दुवै नगरले पर्यटक आदानप्रदान गर्ने उल्लेख गरे ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले दुवै नगरले पर्यटन प्रवद्र्धनका लागि मिलेर काम गर्र्ने उल्लेख गरे । कार्यक्रममा पोखराको प्रतिनिधि मण्डलले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, धरानका मेयर राई र उपमेयर लक्ष्मी सुवेदी भण्डारीलाई उपहार स्वरुप भ्रमण वर्ष २०२० लेखेको स्विटर र गलबन्दी उपहार दिएको छ ।

धरानको तर्फबाट घुम्न जाऔं धरान लेखिएको टिसर्ट पोखराका प्रतिनिधिलाई दिइएको प्रवक्ता नेपालीले जानकारी दिए । उनले धरानको स्थापना दिवस प्रदेश नम्बर १ का मुख्यमन्त्री राईले आइतबार केक काटेर र धरान घुम्न जाऔं लेखेको बेलुन उडाएर उद्घाटन गरेका थिए ।

पोखराको प्रतिनिधि मण्डलमा प्रवक्ता नेपालीसँगै पोखरा २८ का अध्यक्ष निर्मल दियाली सुनार, इन्जिनियर महेन्द्र गोदार, वडा नम्बर ७ का वडा सदस्य प्रभा पन्त, वडा नम्बर १२ का सदस्य विष्णु विक र सारंगी बादक धनबहादुर गायक छन् ।

कार्यक्रममा गायक धनबहादुर गायकले दुवै सहरको परिचय र सद्भाव झल्किने गीत प्रस्तुत गरे ।