अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य तोकिएको छ । इरानी जनरल कासिम सुलेमानीको अन्तिम संस्कारको क्रममा यो मूल्य तोकिएको हो ।
इरानले ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर करिब १० अर्ब नेपाली रुपैयाँ तोकेको बेलायती मिडिया मिररको एक रिपोर्टमा उल्लेख छ ।
जनरल सुलेमानीको अन्तिम संस्कार टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । यस क्रममा इरानको आधिकारिक प्रसारकले प्रत्येक इरानी नागरिकले एक डलर जम्मा गर्ने घोषणा गरेका छन् । यो रकम ती व्यक्तिलाई दिइनेछ जसले अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या गर्नेछन् ।
२०१७ को तथ्यांक अनुसार इरानको कूल जनसंख्या ८ करोड ११ लाख ६० हजार छ । ती सबैले १–१ डलर रकम जम्मा गर्नेछन् ।
‘इरानको जनसंख्या ८० मिलियन छ। इरानी जनसंख्याको आधारमा हामीले ८० मिलियन डलर डलर जम्मा गर्न चाहन्छौं । यो रकम ती व्यक्तिलाई पुरस्कारस्वरुप दिइनेछ जसले अमेरिकी राष्ट्रपति ट्रम्पको अन्त्य गर्न सक्नेछन्’ जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा यस्तो घोषणा गरिएको छ । इरानी कुद्स फोर्सका कमाण्डर मेजर जनरल सुलेमानीलाई शुक्रबार बिहान अमेरिकाले ड्रोन आक्रमणमा मारिदिएको थियो ।
जनरल कासिम सुलेमानीको शव आइतबार इरान पुगेको थियो । आइतबार तेहरानमा सुलेमानीको शवयात्रामा विशाल जुलुस निस्किएको थियो । जुलुसको सुरुवात अहवाजबाट भएको थियो । अहवाजमा हजारौंको संख्यामा इरानीहरु जम्मा भएका थिए । उनीहरुले अमेरिका, इजरायल र साउदी अरबविरुद्ध नारा लगाए ।




