पर्स्याङमा देशकै नमुना रिहाब सेन्टर

गृह मन्त्रालयले पोखरा ५ पस्र्याङमा निर्माण गरेको लागुऔषध दुव्र्यसनी सुधार केन्द्र (रिहाब सेन्टर) चाडै सञ्चालनमा आउने भएको छ । करिब ३ करोडमा निर्माण भएको केन्द्र नौलो घुम्ती नेपालले साझेदारीमा सञ्चालन गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्की र नौलो घुम्तीबीच रिहाब सञ्चालन गर्न गत असार ३१ गते सम्झौता भएको थियो । तर, भवन वरिपरिको कम्पाउन्ड पर्खाल रिहाब सञ्चालनका लागि उपयुक्त नभएकाले अहिले बलियो पर्खाल बन्दै छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले यसका लागि बजेट विनियोजन गरेको छ । मन्त्रालयले गत साल १० लाख र यसपालि ३० लाख विनियोजन गरेको हो । यो रकमबाट रिहाब वरिपरि बलियो कम्पाउन्ड र नजिकै रहेको खोल्सामा चेकड्याम बनाइँदै छ ।

आइतबार गृह मन्त्रालयका उपसचिवसहितको टोलीले रिहाब अवलोकन गरेको छ । आइतबारै बसेको बैठकले पुनस्र्थापना केन्द्र सञ्चालन तथा व्यवस्थापनबारे विभिन्न निर्णयसमेत गरेको छ । गृहमन्त्रालयका उपसचिव झंकनाथ ढकालले चाडै निर्माण सम्पन्न गरी रिहाब सञ्चालन गर्न निर्देशन दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले कम्पाउन्ड वाल र चेकड्याम निर्माण सकिनेबित्तिकै रिहाब सञ्चालन हुने बताए । नेपालकै नमुना यो रिहाबमा सुरुमा ६० जना राखिने योजना छ । केसीले यो सुधार केन्द्रमा महिला दुव्यर्वसनीहरुलाई पनि राख्ने व्यवस्था रहेको जानकारी दिए । पोखरा ५ की वडा सदस्य अञ्जु केसीले पछिल्लो समय लागुऔषधी दुव्र्यसनी चुनौतीको रुपमा देखिएको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्न सबैको एकीकृत प्रयास आवश्यक पर्नेमा जोड दिइन् ।

बैठकले जिल्लाभर रहेका अन्य रिहाब सेन्टरहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सम्बन्धित स्थानीय तहले संयुक्त अनुगमन गर्ने निर्णय भएको छ । यस्ता रिहाबहरुलाई नियमित प्रतिवेदन बुझाउन लगाउन पहल गरिने भएको छ । लागुऔषधको प्रयोग र जोखिम दुवैलाई घटाउन प्रदेश सरकारसँग समेत समन्वय गरी प्रभावकारी कदम चाल्ने बैठकले निर्णय गरेको छ ।
गृहमन्त्रालयका उपसचिव झंकनाथ ढकाल, कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, नौलो घुम्तीका पदाधिकारीसहित सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

क्याप्सन : आइतबार लागुऔषध दुव्र्यसनी सुधार केन्द्र अवलोकन गर्दै गृह मन्त्रालयका उपसचिव झंकनाथ ढकाल लगायत ।