जिल्ला सहकारी संघ कास्कीको सभा

जिल्ला सहकारी संघ लिमिटेड कास्कीको ४६ औं वार्षिक साधारणसभा शनिबार भएको छ । सभामा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले जिल्ला सहकारी संघ कास्कीका गतिविधि सदस्य संस्थाको हितमा रहेको बताए ।

उनले संघले कोपोमिक्स सहकारी सूचना प्रणालीलाई जिल्लाव्यापी लैजाने र हरेक सदस्यलाई अध्यावधि गराउँनुपर्नेमा विशेष ध्यान दिन आग्रह गरे । मन्त्री थापामगरले सहकारीले उत्पादनमुखी कार्य गर्नुपर्नेमा जोड दिँदै कमसेकम एक सहकारी एक उत्पादनलाई अगाडि बढाउन आग्रह गरे ।
यो योजनाका लागि यही माघ ३ गतेसम्म परियोजना प्रदेशमा पेश गर्न आग्रह गर्दै उनले परियोजनालाई प्रदेश सरकारले अनुदान दिने जानकारी दिए ।

प्रदेशसभा सदस्य प्रभा कोइरालाले सहकारीका मूल्य, मान्यता अनुरुप सञ्चालन भएका सहकारी नाफामा भन्दा सदस्यको हितमा केन्द्रित हुने बताइन् । उलने जिल्लामा सहकारी अभियानको अगुवा संघमा कास्कीमा दर्ता कायम रहेका सम्पूर्ण सहकारी संघ, संस्था आवद्ध हुनुपर्ने उनको भनाइ छ । युवालाई रोजगारी तथा उद्यामशीलतालाई सहकारीमार्फत अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न संघलाई उनले आग्रह गरिन् ।

सभाले संघका अध्यक्ष रविरमण तिवारीले गरेको संघका क्रियाकलाप तथा भावी कार्यक्रम, कोषाध्यक्ष कृष्णप्रसाद बरालको कोषाध्यक्षको प्रतिवेदन, वरिष्ठ प्रवन्धक भोजराज घिमिरेको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समिति संयोजक महेश्वर अधिकारीको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहकारी रजिस्टार बद्रिनाथ अधिकारी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेफ्स्कुन केन्द्रीय सञ्चालक सदस्य कमला गिरी, सप्त गण्डकी दुग्ध उत्पादक सहकारी संघ कास्की अध्यक्ष पुण्यप्रसाद पौडेल, कफी सहकारी संघ कास्की अध्यक्ष आनन्द सुवेदी, पोखरा महानगर सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारी, राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वयन समिति अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष बलराम गौतम, उपाध्यक्ष सावित्रा कोइराला र महासचिव छविलाल लामिछानेले बोलेका थिए ।