सरकारले व्यवसायीमाथि कर आतंक मच्चायो : अधिकारी

पोखरा उद्योण वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले व्यवसाय संचालनमा थुप्रै नीतिगत समस्या रहेको बताएका छन् ।

कपडा व्यवसायी एशोसिएसन कास्कीको २०औं साधारणसभामा सरकारले विभिन्न वाहनामा व्यवसायीमाथि कर आतंक मच्चाएको भन्दै उनले त्यसको समाधानका लागि आफूहरूले निरन्तर पहल गरिहेको बताए ।

साथै फुटपाथमा हुने व्यवसायलाई नियन्त्रण गर्न नसकिएको उल्लेख गर्दै उनले प्रतिकुलताभित्र अनुकुलतासहित सफलताको खोजी गर्न उनले आग्रह गरे ।

बजार र उपभोक्ताको माग अनुसार अगाडि बढ्नुपर्ने चुनौती रहेको बताउँदै उनले पुरानो ढंगको शैलिमा परिवर्तनको आवश्यकता औंल्याए ।

संस्थाका संस्थापक अध्यक्ष रामजीप्रसाद बाँस्तोलाले संस्थागत विकासका लागि सदस्यको सक्रिय सहभागीता हुनुपर्ने बताए । व्यवसायिक हित र विकासका लागि समेत व्यवसायी बिचको एकता जरुरी रहेको उनले स्पष्ट पारे ।

फ्लोरिङ तथा फर्निसिङ व्यवसायी संघका अध्यक्ष रामकृष्ण ढुंगानाले पोखराको सडकमा हुने पोके व्यापारीसंगको लडाइँ निकै चुनौतीपूर्ण रहेको बताए ।

संस्थाका अध्यक्ष बिष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठले स्वागत, निवर्तमान अध्यक्ष नविन नापितले धन्यवाद ज्ञापन र महासचिव धर्ममान सिंह भण्डारीले सञ्चालन गरेका थिए ।

साधारणसभाले कोषाध्यक्ष पोषराज पौडेलको लेखापरीक्षणसहित आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।

यसैबीच संस्थाले पोखराको व्यावसायिक विकासका लागि आर्थिक क्षेत्रमा कलम चलाउने १ जना पत्रकारलाई प्रत्येक अधिवेशनमा नगद ११ हजार १ सय ११ रुपैयाँ दोसल्ला र सम्मानपत्रसहित आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने प्रस्ताव पास गरेको छ ।

साधारणसभाले महिला उद्यमी सम्मान प्रदान गर्ने, संस्थाको स्थायी सचिवालय स्थापना तथा निर्माणका लागि कोष सथापना गर्ने, प्लस टु र स्नातकोत्तर उत्तीर्ण व्यवसायीका छोराछोरीलाई नगदसहित सम्मान गर्ने, विपत्तिमा परेका व्यवसायीको क्षतिको मूल्यांकन गरी २५ हजार रुपैयाँसम्म सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी सहकारी अवधारणामा सामुहिक लगानी गर्न सकिने सम्भावित सयुक्त उद्यमको विकास गर्ने, योग शिविर संचालन गर्ने, संस्थाको स्मारिका प्रकाशन गर्ने लगायतका महत्वपूर्ण प्रस्तावहरु समेत पारित गरेको महासचिव भण्डारीले जानकारी दिए ।