चिसोमा बालबालिका र ज्येष्ठ नागरिकलाई कसरी जोगाउने ?

पोखरालगायत मुलुकका अधिकांश भागमा सामान्य वर्षात्सँगै ह्वात्तै चिसो बढेपछि बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहमा ध्यान तानिएको छ ।

चिसोका कारण पछिल्ला दिनमा सरकारी र निजी अस्पताल तथा क्लिनिकमा बालबालिको स्वास्थ्य परीक्षण र भर्ना हुनेक्रम बढ्न थालेको छ ।

बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनिया, रुघाखोकी र झाडावान्ता लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव छ ।

पाटन अस्पतालका बाल विशेषज्ञ डा. भीष्म पोखरेल चिसोमा विशेषगरी ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई रुघाखोकी र निमोनिया हुन सक्ने खतरा भएकाले न्यानो पारेर राख्न सुझाव दिन्छन् ।

डा पोखरेलले भने, ‘पहिल्यैदेखि दमको समस्या हुनेलाई रुघाखोकीले छिट्टै सताउन सक्छ । पाटन अस्पतालमा भर्ना भएका बालबालिकामा निमोनिया, रुघाखोकी र झाडावान्तको बढी समस्या देखिन्छ तर सम्हाल्नै नसक्ने स्थिति भने छैन ।’

उनले चिसोमा ‘रोटा भाइरस’ ले ‘भाइरल डाइरिया’ हुन सक्ने भएकाले त्यसबाट बच्न सल्लाह दिए । ‘रोटा भाइरस’ को खोप निःशुल्क दिने नेपाल सरकारको सूचीमा परेपनि हालसम्म उपलब्ध भइसकेको छैन ।

बालबालिका र ज्येष्ठ नागरिकको लागि तस्बिर परिणाम

डा. पोखरेलले बालबालिकालाई न्यानो पारेर राख्न र उमेर अनुसारको नियमित खोप लगाउन अभिभावकलाई आग्रह गर्दै घरका झ्याल ढोका थुनेर कोइला बाल्दा ‘कार्बन मनोक्साइड’ हुन सक्ने जनाए ।

दम र कुपोषण हुने बालबालिकाका लागि फ्लुको खोप लगाउन र २ वर्षसम्म आमाको दूध नियमित खुवाउन तथा पोषणयुक्त खाना दिन पनि सल्लाह दिए । उनले घरमा अरु कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई तिनबाट परै राख्न भीडभाडमा नराख्न आवश्यक रहेको जनाए ।

शुक्रबारमात्र ३०/४० जना चिसोबाट असर खेपेका बालबालिकालाई परीक्षण गरेका त्रिभुवन विश्वविद्यालयका शिक्षण अस्पतालका ‘बाल सर्जन’ डा दिनेश कोइरालाले बालबालिकालाई मुख्यगरी टाउको दुख्न सक्ने भएकाले जोगाउन आग्रह गरे ।

५ वर्षसम्मका बालबालिकाको विकासको क्रममा टाउको ठूलो हुने भएकाले उनीहरुको तातो क्षयीकरण (हिट लस) हुन सक्ने भएकाले छातिका साथै टाउको, हात, खुट्टा बचाउन पञ्जा, मोजा, टोपी लगाउन र पसिना आएमा समय समयमा कपडा परिवर्तन गर्न आवश्यक रहेको अनुभव सुनाए ।

बालबालिका र ज्येष्ठ नागरिकको लागि तस्बिर परिणाम

जाडोमा धेरै आगो वा हिटरले बढी सेकाउँदा बालबालिका खेलेर आलो वा हिटरमा पर्न सक्ने भन्दै उनले घर बाहिर हिँडाउँदा बालबालिकालाई शरीर पूरै छोप्ने र पानीमा नभिजाउन अत्यावश्यक भएको बताए ।

‘चिसोमा बालबालिकालाई रुघाखोकी लागेमा तुरुन्त चिकित्सककोमा लैजानुपर्छ । चिसोले श्वासप्रश्वासमा असर र पेट दुख्न सक्ने हुन्छ । आन्द्रामा असर गर्न सक्ने हुन सक्छ’, डा कोइरालाले भने ।

उनले ज्येष्ठ नागरिकलाई पनि स्वास्थ्यमा ख्याल गर्न सुझाव दिँदै चिसो खाने कुरा नखान र तातो खान सिफारिस गरे ।

उनले अन्य कुनै रोग भएकाले ज्येष्ठ नागरिकलाई चिसोले थप रोग लाग्न सक्ने र उनीहरुको छालामा बोसो कम हुने हुँदा चिसोले चाँडै भेट्टाउने र दम बिग्रिएमा निमोनिया हुने जनाए ।