उपसचिव ढुङ्गानाविरुद्ध साढे ४ करोड भ्रष्टाचारको आरोपमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक पदमा रहेर अस्वाभाविक रुपमा सम्पत्ति आर्जन गरेको र सम्पत्तिको स्रोतसमेत खुल्न नसकेको भन्दै अख्तियारले उपसचिव ढुङ्गानाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जागिर अवधिमा उनको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ ८ पैैसा हुनेमा उनको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ ५३ पैसा देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन्।

यस आधारमा उनको खर्च र लगानीमध्ये ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसाको स्रोत खुल्न नआएकाले गैरकानूनी देखिएको अख्तियारको भनाइ छ ।

अवैध रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरू उनले आफूलगायत श्रीमती मधुको नाममासमेत खरिद गरी राखेको पाइएको अख्तियारले जनाएको छ।

अख्तियारले ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३ तथा दफा २९ ९२०, भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० ९२० बमोजिम जरिवाना र कैद माग दावी गरेको छ ।