ताजा समाचार

पौष १८ गते २०७६

यो धरतीका सबैभन्दा सुन्दर मानिसको बक्तब्य

यो मेरो बक्तब्य हो
अर्थात् यो धरतीको सबैभन्दा सुन्दर मानिसको आवाज हो ।

तिम्ले फेर्ने प्रत्येक स्वासमा
म मैलो किसानको पसिनाको गन्ध आयो कि आएन?
तिम्रो घाँटिबाट ओर्लिँदैगरेको प्रत्यक गाँसमा
मेरो आलो रगतको गन्ध आयो कि आएन?
तिम्रो टेबलमा सजिएका चौरासी ब्यन्जनमाथी
यो बूढो किसानको चाउरिएको अनुहार नाँच्यो कि नाचेन?

तिम्रो जिवनको
अर्थात तिमी बाँचेको ब्यबस्थाको
अर्थात तिम्रो शरिरको कुन अंगमा छैन म?

तिम्रो पेटको भोकमा छु म
तिम्ले देख्ने सपनामा छु
तिम्रो आँखाको दृस्ठिमा छु
बिडम्बना !
म भएरै सम्भव हुने जिवनको अस्तित्वअघि
म मेरै गाँसको भिख माग्नुपरेको छ तिम्रो सत्तासंग ।

थाहा छ
तिमी मेरै करङको भर्याङ चढेर बिराजमान छौ सत्तामा
मेरै हाडछालाको लिलाम हुन्छ तिम्रो संसदमा
मेरै सपनाको बलात्कार पछि
तृप्त हुन्छ सरकार ।

पराल ओढेर हिउँदको कठ्याङरी काट्नुको चोट कस्तो हुन्छ
यो बूढो किसानलाई सोध्नु।
आफ्नो पसिनाको अनाज मालिकको भकारिमा भरिनुको पीडा कस्तो हुन्छ
यो बूढो किसानलाई सोध्नु ।
भोको पेटको झम्ट्याई कस्तो हुन्छ
यो बूढो किसानलाई सोध्नु ।

तर अब यो नसोध्नु कि यो बूढो किसानको भोक
कुन आगो टिपेर दन्किरहेको छ?
तिम्रो बिरासतको ठिक मुन्तिर
बिद्रोहको सुरुङ खनिरहेको एउटा आगो छ
तिम्ले देख्यौ होला
हो, म त्यही आगो हुँ ।