बाढी पहिरोका कारण २३ जनाको मृत्यु

इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा आएको ठूलो बाढी र पहिरोका कारण दशौँ हजार स्थानीय वासिन्दा विस्थापित भएका छन् ।

बाढी पहिरो प्रभावित क्षेत्रमा घर, कारलगायतका भौतिक सामग्रीहरु पानी र माटोमा डुबेको तथा तैरिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । मृत्यु भएका मध्ये कम्तीमा २१ जनाको जाकार्तामा मात्रै मृत्यु भएको र अरु दुई जनाको छिमेकी जाभाको लेबाकमा मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् ।

जाकार्तामा यसअघि सन् २०१३ मा पनि विनाशकारी बाढी पहिरोका कारण दर्जनौको मृत्यु भएको थियो । यस क्षेत्रमा बेला बेलामा बाढी पहिरो आईरहने गरेको अधिकारीहरुले बताएका छन् ।