व्यापार मेलाको तयारी पूरा, मुख्यमन्त्री गुरुङले उद्घाटन गर्ने

पोखराको नयाँबजारमा आयोजना हुने ‘समृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेला,२०७६, पोखराको तयारी पूरा भएको छ ।

आयोजक पोखरा उद्योग वाणिज्य संघले बुधबार पत्रकार  सम्मेलनकोआयोजना गरि मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।

‘मेलाका केही सामान्य कामबाहेकका मुख्य तयारी सकिएको छ’, पत्रकार सम्मेलनमा संघका अध्यक्ष दामु अधिकारीले भने,‘हामी अब मेलाको समुद्घाटनको पखाईमा छौँ ।’

पुस १८ बाट २८ गतेसम्म चल्ने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दैछन् । मेलाको उद्घाटनअघि संघको सचिवालयबाट प्रभातफेरीको आयोजना गरिने उनले बताए ।

उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउने तथा उद्यमशीलता सिकाउने उदेश्य बोकेको मेलामार्फत नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने पनि उनले जिकिर गरे ।

मेलामा औद्योगिक क्षेत्रका उद्योगहरुबाट २० वटा स्टलसहितको छुट्टै पेभेलियन,हस्तकलाका २३, गलैँचा, बैंक तथा वित्तिय क्षेत्र, फ्लोरिकल्चरसहितका झण्डै २ सय ७० वटा स्टल रहने छन् । यी स्टलमार्फत अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेला अवलोकनकर्तालाई नेपाल टेलिकमसँगको सहकार्यमा  ६० रुपैयाँको टिकट काटेपछि ५० रुपैयाँ ब्यालेन्स भएको सिमकार्ड प्रदान गरिने व्यवस्था मिलाइएको संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले बताए ।

उनका अनुसार  विद्यार्थीहरुको लागि परिचयपत्रको आधारमा प्रवेश टिकटको शुल्क ४० रुपैयाँ कायम गरिएको छ । सिमकार्ड लिनको लागि अवलकोकनकर्ताले आफ्नो नागरिकताको फोटोकपी र एउटा फोटो भने ल्याउनु पर्नेछ । मेला परिसरमा रहने  नेपाल टेलिकमको स्टलमार्फत सिमकार्ड बितरण गरिने छ ।

यता संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापतिका अनुसार मेलामा वुटवलका इन्जिनियर शिशिर जिसीले आविष्कार गरेका ६० प्रतिशत इन्धन र ४० प्रतिशत पानीको प्रयोगबाट मोटर र मोटरसाइकल चल्ने प्रविधिलाई प्रवद्र्धन गर्ने कार्यक्रम पनि रहेको छ ।

मेलामा लोकदोहोरी प्रतियोगिता,पञ्चेबाजा प्रतियोगिता ,नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, खुल्ला एकल नृत्य प्रतियोगिता र प्रहशनहरु पनि समावेश गरिएको उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले जानकारी दिइन् ।

संघका महासचिव अर्जुृन पोखरेलले मेलाले पर्यटन प्रवर्द्धनलाई विशेष जोड दिएको बताए । उनले संघको नियमित कार्यक्रमको रुपमा समावेश भए पनि मेला सबै पोखरेलीको भएको जिकिर गरे ।

संघका कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छेले   करिब १ लाख अवलोकनकर्ताले मेलामा सहभागिता जनाउने दावी गर्दै  मेलाबाट करिब ३० लाख वचत हुने अनुमान लगाए ।

उपमहासचिव चिनु गुरुङले मेलामा महिला उद्यमीका उत्पादनहरुको प्रदर्शनी तथा बिक्रीलाई विशेष महत्व दिइएको बताइन् ।