शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ ।
बुधवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले संकटा क्लबलाई २-१गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमै तीन गोल भएको खेलमा पुलिसले आत्मघाती गोलबाट अग्रता लिएको थियो । १५ औं मिनेटमा पुलिसका सुमन लामाले हानेको प्रहार संकटाका अमित तामाङले बचाउने क्रममा आफ्नै पोष्टमा गोल भएको थियो ।
१८ औं मिनेटमा उनै अमितले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।३३ औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई जित दिलाएका हुन् ।
पहिलो हाफमा पुलिसले २(१ को अग्रता कायम राखेको खेलमा दोस्रो हाफमा दुवै टिम आक्रामक बने पनि गोल हुन सकेको थिएन् ।
जितपछि पुलिसको ४ खेलमा २ जित ,१ हार र १ बराबरीसहित ७ अंक हासिल गर्दै लिगमा पाँचौ स्थानमा उक्लिएको छ ।
त्यस्तै संकटाको भने ४ खेलमा एक जित र २ हार र एक बराबरीसहित ४ अंक हासिल गरेको छ भने लिगमा १०औ स्थानमा रहेको छ ।




