गुप्तेश्वरमा चुनाव, अध्यक्षमा प्राडा अधिकारी करिब निश्चित

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समिति चयनका लागि मंगलबार चुनाव भएको छ । क्याम्पसका सिनेटरबाट छानिने ६ सदस्यमा लागि सर्वसम्मति हुन नसकेपछि निर्वाचन भएको हो

निर्वाचनबाट प्राडा टंकराज अधिकारी, ऋषब तिमिला, भवानीप्रसाद भट्टराई, लक्ष्मण बास्तोला, श्रीराम सुवेदी र ज्ञाज शर्मा विजयी भए । ७५ मतदाता रहेकोमा ६३ मत खसेको थियो ।
क्याम्पस सञ्चालक समितिमा सिनेटरबाट ६ जना, गुप्तेश्वर गुफा सञ्चालक समितिबाट ८ जना हुने प्रावधान छ । गुप्तेश्वर गुफा व्यवस्थापन समितिबाट विष्णुप्रसाद पौडेल, युवराज लामिछाने, विजयराज आचार्य, हरिप्रसाद लम्साल, गोपाल बराल, ईश्वरीप्रसाद लम्साल, मोहदत्त भट्टराई, कृष्णप्रसाद लम्साल समितिमा छन् ।

छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि पदेन सदस्य हुन्छन् । झपिन्द्रराज रेग्मी छोरेपाटन विव्यस अध्यक्ष छन् भने त्रिवि प्रतिनिधि देवीलाल शर्मा छन् । क्याम्पस प्रमुख सदस्य सचिव हुने व्यवस्था छ ।

१७ सदस्यीय समितिको बैठकबाट अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष चुनिन्छन् । क्याम्पस प्रमुख र त्रिवि प्रतिनिधिको मताधिकार भने हुँदैन । मताधिकार भएका १५ सदस्यमध्ये १० जना नेकपा समर्थित र ५ जना नेपाली कांग्रेस समर्थित छन् ।

क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्राडा टंकराज अधिकारी चुनिने करिब निश्चित भएको स्रोत बताउँछ । अधिकारी यसअघिको समितिका उपाध्यक्ष थिए । उनी नेपाल प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पसका अध्यक्ष पनि हुन् । उनी क्याम्पस स्थापनादेखि नै क्याम्पसमा आवद्ध छन् । अधिकारी क्याम्पस स्थापनाअघि बनेको सम्भाव्यता अध्ययन समिति सदस्यसमेत थिए ।

प्राडा अधिकारीले अध्यक्षमा आफ्नो स्वभाविक दाबेदारी भएको बताए । उनले भने, ‘स्थापनाअघि सम्भाव्यता अध्ययन समितिदेखि अहिलेसम्म योगदान गरेको छु । साथीहरुले जिम्मेवारी दिए दायित्व निर्वाह गर्छु ।’