च्यासलमाथि जावलाखेलको सहज जित

सहिद स्मारक ए डिभिजन लिगको सोमबारको पहिलो खेलमा जावलाखेल युथ क्लबले जित हात पारेको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको पहिलो खेलमा जावलाखेलले च्यासल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो।

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलको जावलाखेलले दोस्रो हाफमा उत्कृष्ट खेल्दै च्यासलको पोष्टमा २ गोल गर्न सफल भयो।

खेलको ८० औं मिनेटमा विजय घलानको पासमा रुपबहादुरले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै रिबाउण्ड बलमा विजय घलानले गोल गर्दै जित दिलाएका हुन् ।

जितसंगै जावलाखेल ८ अकमा तेस्रो स्थानमा उक्लिएको छ। यसअघि जावलाखेलले २ मा जित र २ मा बराबरी खेलेको थियो।