‘डन पत्रिकाका सिइओले मेरो बलात्कार गरे’

पाकिस्तानी चलचित्र निर्देशक जमशेद महमूदले गत अक्टुबरमा एक मिडिया घरानाका मालिकले १३ वर्षअघि आफूमाथि बलात्कार गरेको आरोप लगाएका थिए । जमशेदको आरोपपछि त्यतिबेला निकै खलबली मच्चिएको थियो ।

सो समय उनले बलात्कारका आरोपीको नाम खुलाएका थिएनन् । सोमबार भने उनले आफूलाई बलात्कार गर्ने पाकिस्तानको चर्चित अङ्ग्रेजी पत्रिका डनका सिइओ हामीद हारुन रहेको खुलासा गरेका छन् ।

जमी भनेर चिनिने जमशेदले शनिबार राति एक नयाँ ट्वीटर अकाउन्ट खोलेका थिए । त्यही अकाउन्टबाट उनले यो आरोप लगाएका हुन् । उनले आफ्नो पुरानो ट्वीटर अकाउन्ट ह्याक भएको कारण नयाँ अकाउन्ट बनाउनु परेको बताएका छन् । उनले आफ्नो ट्वीटलाई फेसबुक पेजमा पनि सेयर गरेका छन् ।

उनले डनलाई आफ्नो पोष्टमा ट्याग गर्दै समाचार प्रकाशित गर्न चुनौतिसमेत दिएका छन् । ‘हो, हामिद हारुनले मेरो बलात्कार गरेको थियो । म अब तयार छु । डन, के तिमी यसलाई प्रकाशित गर्न तयार छौ ?’

यसअघि उनले ट्वीटरबाट आफूमाथि भएको घटनाबारे खुलासा गरेका थिए । ‘म किन मिटूलाई यति समर्थन गर्छु ? किनभने मलाई थाहा छ अब के हुन्छ, कोठाभित्र त्यसपछि अदालतभित्र र बाहिर, मीटू पीडित कस्तो महसुस गर्छन् । म पनि मिडिया क्षेत्रका एक शक्तिशाली व्यक्तिबाट बलात्कृत भएको थिएँ ।’

हारुनले आरोपलाई खण्डन गर्दै एक विज्ञप्ति जारी गरेका छन् । उनले भनेका छन्, ‘यो कथा फर्जी हो । मलाई र अखबारलाई चुप गराउन जानीबुझी मनगढन्ते र काल्पनीक कथा रचिएको छ । म यस मामिलामा कानुनी कारवाही गर्न गइरहेको छु ।’

‘मेरो नाम र प्रतिष्ठाको साथै प्रेसको स्वतन्त्रतामाथि चोट पु¥याउने षडयन्त्र हो,’ उनले भनेका छन् ।

पाकिस्तानको रङ्ग क्षेत्रमा जमशेद महमूद निकै चर्चित नाम हो । सन् २०१४ मा उनले ०२१ फिल्म निर्देशन गरेका थिए । उनले निर्देशन गरेको मूर नामक चलचित्र सन् २०१५ मा पाकिस्तानबाट ओस्करका लागि मनोनिनत गरिएको थियो ।