आज सन्दिप लामिछाने चम्किएलान् ?

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले अस्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगअन्तर्गत चौथो खेलमा होबर्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्दै छ । 

तेस्रो जितको लक्ष्यसहित सन्दीप आबद्ध मेलवर्न स्टार्स चौथो खेलमा होबर्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार खेल दिउँसो १ बजेर ५५ मिनेटमा सुरु हुनेछ । 

लिग चरणमा मेलबर्न र हुरिकेन्स दोस्रोपटक खेल्न लागेका हुन् । यसअघि मेलबर्न स्टार्सले हुरिकेन्सलाई ५२ रनले पराजित गरेको थियो । तीन खेल सकिँदासम्म मेलवर्न स्टार्स २ मा जित र १ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । समान खेलबाट ४ अंक भए पनि हुरिकेन्स रनरेटको आधारमा पाँचौं स्थानमा छ ।

गत सिजनबाट बिग बासमा आबद्ध नेपाली युवा लेगस्पिनर सन्दीपले ३ खेल सकिँदासम्म ३ विकेट लिएका छन् ।

प्रत्येक खेलमा १–१ विकेट लिएका सन्दीप आज पनि प्लेइङ ११ पर्ने सम्भावना प्रवल छ । यसअघि तेस्रो खेलमा हार व्यहोरे पनि सन्दीपले १ विकेट लिँदै उत्कृष्ट बलिङ गरेका थिए ।