सफाई अभियानको निरन्तरता, १८७ औं श्रृंखला सम्पन्न

२०७४ सालको जेठ महिनाबाट ‘हप्तामा एक घण्टा, राष्ट्रका लागी स्यवंसेवा’ भन्ने मूल नारा सहित फिर्के बुलौदीखोला सफाई अभियानबाट शुरु भई पोखरा बृहत सफाई अभियानले अहिले पनि सक्रिए रुपमा पोखराको सफाई गर्दै १८७ औं श्रृंखला सम्पन्न गरिसकेको छ ।

पोखराको कुना–कुनामा पुगी सफाई गर्दै नागरिकलाई सचेतना फैलाउँदै आएको यस अभियानमा सरकारी निकायदेखि सामाजिक संघसंस्था, विद्यालय, बैंकलगाएत पोखरालाई माया गर्नेहरुले एक्यबद्धता जनाउँदै आएका छन् ।

सफाई अभियान कुनै चाडपर्वमा नरोकि साँस्कृतिक महत्व बोकेको स्थान, पर्यटक गन्तव्य, खोला, ताल, सडक, चोकजस्ता सार्वजनिक महत्व राख्ने पोखराका ठाउँमा अभियान पुगि सफाई गर्नुका साथै सचेतना फैलाईरहेको छ ।

सफाईका लागि खरो रुपमा उत्रने अभियानका संयोजक रामबहादुर पौडेलको भुमिकाले गर्दा यसले निरन्तरता पाएको अभियन्ताहरु बताउँछन् ।

सामाजिक संजालमा पोष्टगर्दै अभियानका संयोजक पौडेल लेख्छन्– ‘नागरिक जागरण मार्फत हरेक वडाका जनप्रतिनिधिलाई उत्तरदायी र जवाफदेही बनाउँदै यहाँसम्म आइपुगेका छौँ । सामाजिक संघसंस्थामा आबद्ध समाजसेवी, बुद्धिजीवी, सचेत–नागरिक, कर्मचारी, पत्रकार, व्यापारी–व्यवसायी, राजनीतिक दलका कार्यकर्ता जबसम्म जिम्मेवार बन्दैनन् तबसम्म हाम्रो खबरदारी कायमै रहनेछ ।’

सफाईलाई निरन्तरता दिदैं १८७ औं श्रृंखलाको सफाई अभियान पोखरा ८ र ५ को सिमाना फेवामार्गअन्तरगतको फिर्केदेखि जिरो किलोमिटरचोकसम्मको सफाई तथा सचेतना कार्यक्रम भएको छ । अर्को हप्ताको सफाई अभियान बिजयपुर ब्यारेक अगाडी शुरु हुने बताईएको छ ।