स्याङ्जाली सम्पर्क सदनको रजतजयन्ति

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले दक्ष जनशक्तिमार्फत नै देशको समृृद्धि सम्भव हुने बताएकी छन् ।

स्याङ्जाली सम्पर्क सदन पोखराको रजत महोत्सवको समारोह उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

उनले देशमा हरेक क्षेत्रमा स्याङ्जालीको भूमिका अग्रणी स्थानमा रहेको चर्चा गरेकी छन् । देशको आर्थिक रुपान्तरणको लागि दक्ष जनशक्तिको हातेमालो नै आवश्यक हुने उनको भनाई छ ।

उनले स्याङ्जाको विकासको लागि सदनले गर्ने हरेक आग्रहलाई आफूले सकारात्मक सहयोग गर्ने बताइन् ।

सो अवसरमा उनले चाँदीबाट निर्मित स्याङ्जा जिल्लाको तस्वीर अनावरण गर्नुको साथै सदनको रजत वर्ष स्मारिका बिमोचन गरेकी थिइन् ।

कार्यक्रममा ११ जना पूर्व अध्यक्ष, २५ जना विभिन्न विधागत व्यक्तित्व र संस्थालाई सहयोग गर्ने अन्य व्यक्तिलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने भीरकोट पोखरा समाज,कोल्मावहाकोट तमुसमाज,चित्रे भञ्ज्याङ पोखरा सम्पर्क समाज लगायतलाई पुरस्कृत गरिएको थियो ।

यसैगरी समाजले तीजको वेला आयोजना गरेको तीजे नृत्यमा उत्कृष्ट हुने तारा थापा लगायतलाई सुनको चन्द्रमासहित विभिन्न पुरस्कार प्रदान गरेको थियो ।

सो चन्द्रमा संस्थाका उपाध्यक्ष तारा गौतमले प्रायोजन गरेका थिए । यसैगरी चाँदीको स्याङ्जा जिल्ला अंकित मानक पनि उनै गौतमले बनाएका थिए ।

सदनका अध्यक्ष लीलाप्रसाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी, प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ, राष्ट्रिय ओजना आयोगक पूर्व उपाध्यक्ष दीपेन्द्रवहादुर क्षेत्री, संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष प्राध्यापक डा. डिलवहादुर क्षेत्री, फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, चिरञ्जीवी पोखरेल, स्मारिका प्रकाशन उपसमितिका संयोजक बोधराज ढकाल, महासचिव धर्मराज आर्याल लगायतले वोलेका थिए ।

यसअघि पोखराको छोरेपाटन शितल चौतारीवाट शुरु भएको बाजा गाजा र झाँकीसहितको र्याली विरौटा, मुस्ताङचोक, पृथ्वीचोक हुँदै पोखरा सभागृहमा आएर सभामा परिणत भएको थियो । सो अवसरमा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।