विराटनगरलाई २०३ रनको लक्ष्य

अनिल कुमार साह र रोहन मुस्ताफाको अर्धशतकमा चितवन राइनोजले पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा विराटनगर टाइटन्सलाई २०३ रनको विशाल लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०३ रनको लक्ष्य दिएको हो । चितवनका लागि अनिल साहसँगै विदेशी खेलाडी मुस्ताफाले अर्धशतक बनाए । 

पोखरा रंगशालामा ओपनिङमा आएका मुस्ताफाले ५० रन बनाए । कप्तान पारस खड्कासँगै क्रिजमा आएका उनले ४३ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे ।
 
कप्तान पारस २५ रनमा पवेलियन फर्किए । ११ बलमा ४ चौका र १ छक्का प्रहार गरेका किशोर महतोको बलमा नोमन खानमार्फत क्याच भए । 

त्यसपछि क्रिजमा आएका बाबर हायत ५ रनमा आउट हुँदा मुस्ताफासँग अनिल शाहले उत्कृष्ट साझेदारी गरे । ३४ बलमा अनिलले ३ चौका र ३ छक्काको मदतमा ५० रन बनाएका थिए । अनिल पुनित मेहराको बलमा क्याच भए । 

आरीफ शेख १९ रनमा जाइद खानको बलमा जितेन्द्रमुखियामार्फत क्याच भए । सन्नी पटेलले १६ र करण केसीले २६ रन बनाए । 

विराटनगरका लागि जाइद खान र पुनित मेहराले २ –२ विकेट लिए । किशोर महतोको नाममा १ विकेट रह्यो । 

२०३ रनको लक्ष्य पाएको विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । दुबै टोली उपाधि जित्ने लक्ष्यमा छन् ।