स्याङ्जाली सम्पर्क सदन रजत जयन्ति मनाउँदै

स्याङ्जाली सम्पर्क सदन पोखराको यही पुस १२ गते हुने रजत जयन्ति महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

पोखरा सभागृह हलमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको रजत जयन्ति महोत्सव मूल समारोह समितिले जनाएको छ ।

महोत्सवको अवसरमा पोखराको छोरेपाटन सितल चौतारी र विरौटा राममन्दिर क्षेत्रवाट २ वटा विशाल झाँकीसहितका र्याली निस्केर विरौटाचोक, मुस्ताङचोक, पृथ्वीचोक हुँदै सभागृहमा पुगेर सभामा परिणत हुने सदनका अध्यक्ष लीलाप्रसाद पँगेनीले जानकारी दिए ।

बाजा गाजासहितको सो झाँकीमा पोखरामा वसोवास गर्ने सयौं स्याङ्जाली दाजुभाइ तथा दिदीवहिनीको सहभागिता रहने अध्यक्ष पँगेनीले बताए ।

सो अवसरमा सदनले प्रकाशन गरेको रजत जयन्ति स्मारिका विमोचन गरिने उनले बताए । साथै सदनलाई स्थापनादेखि हालसम्म विभिन्न कालखण्डमा रहेर सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिने महासचिव धर्मराज अर्यालले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन भूमिसुधार मन्त्री पद्यमा अर्यालले गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । महोत्सवलाई भव्य र सभ्य बनाउन सवै तिर प्रचार भैसकेको संस्थाका वरिष्ठ उपाध्यक्ष लालीमाया रेग्मीले जानकारी दिएकी छन् ।

सदनले हालसम्म गरेका गतिबिधि पनि रजत महोत्सवमा जानकारी गराइने उपाध्यक्ष तारा गौतमले बताए । रजत महोत्सव अन्य महोत्सव भन्दा निकै गर्विलो बनाउने तयारीमा सम्पूर्ण कार्यसमिति नै परिचालन गरिएको उनले जानकारी दिए ।