पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको जनाएको छ ।
आउँदो पुस १८ गतेदेखि २८ गतेसम्म पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना हुँदैछ ।
मेलाको तयारीबारे जानकारी दिन बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष दामु अधिकारीले मेलामा राखिएका स्टलमध्ये करिब ८० प्रतिशत बुकिङ भइसकेको जनाए ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीसँगको समन्वयमा गण्डकी प्रदेशका महिला उद्यमीहरुबाट उत्पादित सामानहरु प्रदर्शन तथा बिक्रीका लागि निःशुल्क स्टल दिइने अध्यक्ष अधिकारीले बताए । गण्डकीका उद्योग व्यवसाय सञ्चालन गर्दै आएका महिला उद्यमीले यो अवसर प्राप्त गर्ने बताइन्छ ।
मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत एक जनालाई प्याराग्लाइडि उडानको प्याकेज दिने तथा अवलोकनकर्तालाई नेपाल टेलिकमसँगको सहकार्यमा ६० वा ४० रुपैयाँको टिकट काटेपछि ५० रुपैयाँ ब्यालेन्स भएको सिमकार्ड प्रदान गरिने व्यवस्था मिलाइएको पनि बताए । मेला प्रवेशको लागि विद्यार्थीलाई ४० र सर्वसाधारणको लागि ६० रुपैयाँ शुल्क तोकिएको छ ।
मेलामा रहने स्टलहरुमा औद्योगिक, हस्तकला, कृषिजन्य सामग्री, पूष्प, अटो, सूचना तथा प्रविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण गरिने छ ।
मेलाको थप आकर्षणतर्फ लोकदोहोरी प्रतियोगिता,पञ्चेबाजा प्रतियोगिता ,नेपालका ख्यातिप्राप्त व्याण्डको सांगीतिक कार्यक्रम, खुल्ला एकल नृत्य प्रतियोगिता र प्रहशनहरु पनि समावेश गरिएका छन् । मेलामा यो क्षेत्रमा रहेका होमस्टेहरुको स्टलमार्फत पर्यटकीय नयाँ गन्तव्यहरुको प्रचार गरिने छ ।
मेलामा लोकदोहोरी, पञ्चेबाजा प्रतियोगितातर्फ क्रमशः ५०, ३० २० हजार रुपैँया र सान्त्वाना पुरस्कार तर्फ १० हजार रुपैँया साथै उत्कृष्टलाई ५ हजार प्रदान गरिनेछ ।
एकल नृत्य प्रतियोगितातर्फ क्रमशः २०, १५, १० हजार रुपैँया, सान्त्वानालाई ५ हजार सहित उत्कृष्ट नृत्य प्रशिक्षकलाई २ हजार रुपैँया प्रदान गरिनेछ ।
मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठको संयोजकत्वमा ४५१ सदस्यीय मेला मुल आयोजक समिति तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा कार्य सम्पादन समिति समेत गठन भएको संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले बताउ ।
उनका अनुसार कार्यसम्पादन समिति अन्तर्गत सल्लाहकार समितिका अलावा विभिन्न २८ वटा उपसमिति मेलाको तयारीमा जुटेका छन् ।
संघका महासचिव अर्जुन पोखरेलका अनुसार नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउनु पनि मेलाको उदेश्य रहेको छ ।
उनले मेलाको प्रचारप्रसार तीव्र पारिएको पनि जानकारी दिए । संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापतिले मेलाबाट बचेको रकम उद्यमशीलता प्रवद्र्धनमा लगाउने बताए ।





