शिक्षक नै नेता बनेपछि….

पोखरा–गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षकनै नेता बनेपछि अपेक्षा गरेअनुसारको शैक्षिक उपलब्धी हासिल हुन नसकेको बताइएकी छिन्।

पोखराको सुन्दर नगरी लेकसाईड स्थित होटल बाराहीमा मंगलबार आयोजित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको मध्यावधि मूल्याङ्कन प्रतिवेदन २०१८ अन्तर्गत प्रदेश स्तरीय प्रबोधीकरण समिक्षा कार्यक्रममा बोल्दै मन्त्री पुनले शिक्षकहरुले राजनिति गर्न नहुने उल्लेख गरिन्।

मन्त्री पुनले शिक्षकहरु मुलुकलाई समृद्ध बनाउने जनशक्ति निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै पछिल्लो समय शिक्षकहरु नेता बन्ने परिपाटीको विकासले शिक्षाको गुणस्तर खस्किन थालेकोमा चिन्ता व्यक्त गरिन् । उनले शिक्षकहरु पेशाप्रति जिम्मेवार रहे मात्रै मुलुकमा दक्षजनशक्ति उत्पादन हुने तर्क गरिन् । मन्त्री पुनले शिक्षकहरुलाई कामका आधारमा प्रोेत्साहन र दण्डको प्रावधान ल्याउनुपर्नेमा जोड दिईन् । शिक्षकहरुलाई हौसला दिदै मन्त्री पुनले बिद्धान जन्माउने मेशिन शिक्षक भएको जनाईन् ।


शिक्षाक्षेत्रमा अहिले बग्रेल्ती शैक्षिक चुनौतिहरु रहेको उल्लेख गर्दै मन्त्री पुनले शैक्षिक गुणस्तर उकास्न राज्यले पूर्वाधार निर्माण गर्न आवश्यक भएको बताईन् । उनले विद्यालयको शैक्षिक विकासका लागि कार्यरत प्रधानाध्यापकलाई थप अधिकार दिनुपर्ने तर्फ जोड दिदै मन्त्री पुनले यसका लागि प्रदेश सरकारले समन्वय बाहेक केही गर्न नसक्ने अवस्था रहेको र संघीय सरकारबाट पहल गरिनु पर्ने जनाईन् ।

उनले शिक्षकहरु बिरामी पर्दा वा सुत्केरी अवस्थाका शिक्षिकाको साटो थप दरबन्दी लागु गरेमात्र विद्यार्थीको पठनशिपमा विकास हुने उल्लेख गरिन् । उनले कर्मचारी जस्तै शिक्षकहरुको क्षमता विकासका लागि शैक्षिक विदेश भ्रमण लैजाने निति ल्याउन सके शिक्षकहरुको मनोबल बृद्धि हुने तर्क गरिन् । समाजमा शिक्षा क्षेत्रको सम्मान भएमात्रै समाज समृद्धि हुने मन्त्री पुनको भनाई थियो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख नैनबहादुर क्षेत्रीले म्लुक समृद्धि हुन भौतिक समृद्धिले मात्र पूरा नहुने बताउदै यसका लागि सामाजिक समृद्धि आवश्यक भएको बताए । उनले विद्यालयको शैक्षिक गुणस्तर उचाईमा पू¥याउन अभिभावक,शिक्षक र विद्यार्थीबीचको समन्वयकारी भुमिका महत्वपूर्ण भएको जनाए । सरकार र अमेरिकी सहयोग नियोगको प्रारम्भिक कक्षा पढाई कार्यक्रम लोकप्रिय बन्दै गएको उल्लेख गर्दै सरकार एक्लैले यसप्रकारको कार्यक्रमलाई दिगो तुल्याउन आजैबाट सोच्नुपर्ने बेला आएको बताए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई कास्की प्रमुख नारायणप्रसाद सुबेदीले बोलेका थिए ।

प्रारम्भिक कक्षा पढाई कार्यक्रमको मध्यावधि मुल्याङ्कन कार्यक्रममा गण्डकी प्रदेशका मनाङ ,मुस्ताङ र कास्कीका शिक्षक तथा जिल्ला स्तरीय सदस्यहरुको सहभागी रह्यो । ईजिआरपिले कक्षा १ देखि ३ सम्मका नेपाली शैक्षेणिक सिकाईका ६ आधारमा गरिने उपलब्धीको प्रगति प्रस्तुत भएको थियो ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम २०१५ मा योजना निर्माण भई २०१६ देखि दुर्गमका ६ जिल्लामा एकैसाथ लागु भएको हो । नेपाल सरकार तथा अमेरिकी सहयोग नियोगको शैक्षिक तथा प्राविधिक सहयोगमा सुरु भएको प्रारम्भिक कक्षा पढाईको उत्तरार्धमा यसको मध्यावधि समिक्षा भएको हो । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका निर्देशक घनश्याम अर्यालले प्रारम्भिक कक्षा पढाई कार्यक्रमका बारे जानकारी दिए ।

उनले प्रारम्भिक कक्षा पढाईका लागि अमेरिकी सहयोग नियोगबाट ५३ मिनिलियन र नेपाल सरकारबाट ८ मिनिलिन डलर गरी झन्डै ६ अर्ब रुपैयाको प्रारम्भिक कक्षा पढाई कार्यक्रम संञ्चालन भईरहेको बताए । पछिल्लो समय प्रारम्भिक कक्षा पढाई अन्तर्गत सरकारले ३ वटा पाटोबाट कार्यक्रम अघि बढाएको निर्देशक अर्यालले उल्लेख गरे । उनका अनुसार प्रारम्भिक कक्षा पढाईका लागि ईजिआरपि र विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत हाल ३० जिल्लामा ४ चरण गरी लागु भएको हो ।

कार्यक्रममा ईजिआरपि कास्कीका प्रोजेक्ट डार्ईरेक्टर नारायणकृष्ण श्रेष्ठ र ईजिआरपि कास्की संयोजक कृष्ण खतिवडाले प्रारम्भिक कक्षा पढाई कार्यक्रमका उपलब्धीहरुका बारेमा प्रस्तुतीकरण गरेका थिए । यस्तै ,बृहत राष्ट्रिय शिक्षा अभियानका अभियान्ता अभिषेक घिमिरेले शैक्षिक विकास र उपलब्धीका लागि अभिभावक ,शिक्षक र जनप्रतिनिधिहरुबीच समन्वयको खाचो भएको औल्याए । अभियान्ता घिमिरेले देशका विभिन्न शैक्षिक गणस्तर खस्किएका विद्यालयमा नागरिक सचेतनापछिको उपलब्धीबारे प्रस्तुतीकरण गरे ।

नेपालमाा ५ वर्षका लागि अमेरिकी सहयोग नियोग र सरकारले सन् २०१६ बाट यो कार्यक्रम लागु गरेका हुन् । यसको अवधि सन् २०२० मा सकिदै छ । सन् २०१६ मा ६ जिल्ला ,सन् २०१७ मा १० जिल्ला ,सन् २०१८ मा ४ जिल्ला र चालु वर्ष १० जिल्ला थपिएको हो । कक्षा १ देखि ३ सम्म पढ्ने स–साना वालवालिकाको नेपाली भाषा पठनशिपको विकासका लागि कार्यक्रम लागु भएको प्रोजेक्ट डाईरेक्टर नारायणप्रसाद श्रेष्ठले बताए ।