पर्यटकीय शहर पोखरामा आगामी पुस १० देखि १४ गतेसम्म ‘पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालास्थित टेनिस कोर्टमा १७ औं संस्करणको प्रतियोगिता गर्न लागिएको हो ।
अघिल्लो संस्करणसम्म भेट्रान्समात्रै रहँदै आएकोमा यस पटकदेखि ‘ओपन’ गरिने र प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष दोर्जे लामाले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा पुरुष व्यक्तिगत तथा डबल्स, महिला व्यक्तिगत तथा डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्षमाथि पुरुष व्यक्तिगत र डबल्स गरी १२ इभेण्टमा प्रतिस्पर्धा हुने संघले जनाएको छ ।
प्रतियोगिताका लागि बुटवल, काठमाडौंलगायतका जिल्ला तथा १३औं सागमा पुरुष टिम इभेन्टका खेलाडी तथा महिलातर्फका केही खेलाडी सहभागी हुने बताइन्छ ।
व्यक्तिगततर्फ ९८ तथा डबल्सतर्फ ४६ गरी १ सय ४४ खेलाडीको सहभागिता रहने लामाले जानकारी दिए ।
खुला व्यक्तिगततर्फ महिला तथा पुरुषको विजेताले रु ५० हजार, उपविजेताले रु २५ हजार तथा सेमिफाइनल प्रवेश गर्नेले रु १०÷१० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी महिला पुरुष डबल्सतर्फ विजेताले रु २० हजार, उपविजेताले रु १० हजार तथा सेमिफाइन लिष्टले रु ५÷५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।
३५ वर्षमाथिको एकल विजेताले रु ५० हजार तथा उपविजेताले रु २५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने ३५ वर्षमाथिको डबल्स विजेता खेलाडीले रु १५ हजार तथा उपविजेता खेलाडीले रु ८ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक कुमार अधिकारीले जानकारी दिए ।
यसैगरी ४५ वर्षमाथि एकल विजेताले रु २० हजार तथा उपविजेताले रु १० हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । सोही उमेर समूहमा डबल्स विजेताले रु १५ हजार र उपविजेताले रु आठ हजार प्राप्त गर्ने बताइन्छ ।
५५ वर्षमाथिको एकलतर्फ विजेतालाई रु २० हजार तथा उपविजेतालाई रु १० हजार र ट्रफी पाउने छन् । त्यसैगरी ६५ वर्षमाथिको एकलतर्फ विजेता र उपविजेतालाई ट्रफीद्वारा पुरस्कृत गरिने संघले जनाएको छ ।




