शिक्षासंग सम्बन्धित गीति एल्वम ‘समर्पण’ वेलायतमा लोकर्पण गरिएको छ । एल्वम विक्रीबाट भएको आम्दानी नेपालका विभिन्न विद्यालयमा लगानी गरिने भएको छ ।
उक्त एल्वम वेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी, वरिष्ठ विमानचालक क्या. विजय लामासहित कार्यक्रममा सहभागी सबैले एकैसाथ सिडी खोलेर विमोचन गरेका थिए ।
उक्त अवसरमा समर्पणका संयोजक सूर्य गुरुङले गीति एल्बम ‘समर्पण’ शिक्षाका लागि समर्पित रहेको र यो एल्बम एल्वममात्र नभएर परियोजना भएको जानकारी दिए । उनले एल्वमको आम्दानीको पहिलो हिस्सा मकवानपुरस्थित देवहित आधारभूत विद्यालयलाई सहयोग गर्ने घोषणा गरे ।

प्रमुख अतिथि तथा महामहिम राजदूत डा. सुवेदीले सामाजिक एवं शैक्षिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यले एल्वम नै तयार गर्नु सह्रानीय भएको बताए । उनले सिमलको बिज छरे सिमल उम्रन्छ, सालको बिज छरे सालनै उम्रन्छ भने जस्तै नेपाली भनेपछि विश्वमा जहा रहे पनि नेपाली नै रहिरहने बताए ।
आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचानलाई सदा बचाएर राख्नुपर्ने भन्दै डा. सुवेदीले आफ्नो परिश्रमको थोरै अंश भए पनि आफ्नो मातृभूमिका लागि छुट्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रमका अर्का आकर्षक क्या. लामाले चन्द्र र सूर्य अंकित ध्वजाबाहक विमान उडाएको ३०औं वसन्त पार गरिसकेको भन्दै आफ्नो अनुभूति सुनाए । उनले नेपाली ध्वजावाहक जहाजलाई सधैं माया गर्न पनि आग्रह गरे ।

व्यक्तिगत र राजनीतिक स्वार्थ भन्दा माथि उठी नेपाली भएकोमा गर्व गर्न आग्रह गर्दै क्या. लामाले बेलायत नेपाली गोर्खाहरूको एतिहासिक कर्मथलो रहेको, आफ्नो पुर्खाले कमाएको इज्जत बचाई राख्न र नेपाल आमालाई सम्झिरहनुपर्नेमा जोड दिए ।
साथै उनले समर्पण परियोजना टिमको आफू पनि एक हिस्सेदार भएकोमा गर्व अनुभूति गर्दै समर्पणलाई सफल बनाउन आफूले पनि पहल गर्ने प्रतिवद्धता जनाए ।
समर्पण परियोजनाका संयोजक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परियोजना समुह कै सदस्यद्धय कान्ति गुरुङ श्रेष्ठ र विभा गुरुङले गरेको लण्डनबाट विशाल तामाङले नेपालदूतलाई जानकारी दिए ।




