भुटानविरुद्ध नेपालको शानदार जित

अमिशा कार्कीको ह्याट्रिक तथा कप्तान प्रिति राईले दुई गोलको मद्दतले नेपाली यू–१५ महिला फुटबल टोेलीले भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । 

घरेलु मैदानमा अमिशा र कप्तान प्रितिले सोमबार उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली यू–१५ टोेलीले भुटानविरुद्ध ६–१ को सहज जित निकालेको हो । 

सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा सुनकली राईले प्रथम गोल गरेकी थिइन् । भुटानकी कप्तान डेकी लाजोमले एक गोल फर्काइकी थिइन् । 

खेल सुरु भएको ५ औं मिनेटमा सुनकलीको गोलमार्फत् अग्रता लिएको १२ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो ।

लगत्तै २ मिनेटपछि भुटानकी कप्तान लाजोमले गोल फर्काउँदै अग्रता घटाएकी थिइन् । पहिलो हाफ सकिन १ मिनेट बाँकी रहँदा कप्तान प्रितिले नेपाललाई ३–१ को अवस्थामा पुर्‍याइन् ।

गोलपछि दबाबमा परेको भुटानविरुद्ध अमिशाले ४८ औं मिनेटमा टोलीका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरिन् । ५४ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी अमिशाले टोलीलाई ५–१ को अग्रता दिलाइन् ।

निरन्तरको गोलपछि दबाबमा परेको भुटानले सम्हालिएको प्रदर्शन गरे पनि ८९ औं मिनेटमा छैटौं गोलको सिकार भयो ।

टोलीका लागि छैटौैं गोल कप्तान प्रितिले गरेकी थिइन् । उनको व्यक्तिगत दोस्रो गोलसँगै नेपाल ६–१ ले जित सुनिश्चित गरेको हो । नेपालले अब दोस्रो मैत्रीपूर्ण खेल बुधबार भुटानसँगै खेल्नेछ ।