काजीपोखरी युथ क्लबको आयोजनमा चौथो काजीपोखरी बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
काजीपोखरी युथ क्लबको खेल मैदानमा हुने प्रतियोगिता पुस १२ गते सुरु हुने संयोजक किरण अधिकारीले बताए । पुस १५ गतेसम्म हुने प्रतियोगितामा विजेताले ७५ हजार र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, प्रमाणपत्र र खादाले सम्मान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा २० टिम सहभागी हुने अधिकारीले बताए ।
प्रत्येक टिममा १ जना क्षेत्रीय खेलाडी सहभागी गराउन पाउने तर राष्ट्रिय खेलाडी प्रवेश गराउन नपाइने अधिकारीले स्पष्ट पारे । पोखराको विकास र पर्यटन क्षेत्रमा सुधारका साथै स्थानीय स्तरबाट नै खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिने अधिकारीको भनाइ थियो ।
प्रतियोगितामा ८ लाख रुपैयाँ आम्दानी हुने र ४ लाख ५० हजार रुपैयाँ बचत गर्ने आयोजकको योजना छ । प्रतियोगिताबाट बचत भएको रकम काजीपोखरी खेल मैदानमा बन्दै गरेको भवनका लागि खर्च गर्ने क्लबले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क ६ हजार निर्धारण गरिएको छ । क्लबका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा खेलमार्फत् पोखराको पहिचान भिन्न बनाउन क्लब सक्रिय रहेको बताइएको छ । स्थानीय काजीपोखरी युवा क्लब, काजीपोखरी टोलविकास संस्था, सूर्यमूखी मार्ग टोलविकास संस्था, जागृति आमा समूह र हवेलीमार्ग टोल विकास संस्थाको कार्यालय स्थापनाका लागि ६ कोठे भवन निर्माण गरेको क्लबका संस्थापक उपाध्यक्ष जितेन्द्रजंग थापाले बताए ।
हालसम्म भवनका लागि आवश्यक शौचालय, बाथरुम निर्माण तथा बिजुलीकोे मिटर बक्ससमेत जडान भइसकेको छ । भवन निर्माणमा हालसम्म ३५ लाख खर्च गरिएको क्लबले जनाएको छ । भवन निर्माण कार्य पूरा गर्न अझैं १० लाख रुपैयाँ लाग्ने अनुमान छ ।





