प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट ९० भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँगको संयुक्त अपरेसनमा मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
घरभाडामा लिई शंकास्पद गतिविधि गरिरहेको जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् ।
अहिलेसम्म ९० भन्दा बढीलाई नियन्त्रणमा लिई काठमाडौंको विभिन्न प्रहरी वृत्तमा राखी अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।






