आज इतिहासकै खतरनाक र दुर्लभ सूर्यग्रहण, के-के गर्नुहुँदैन ?

आज पुस १० गते बिहीबार बिहान सूर्य खण्डग्रास सूर्यग्रहण लाग्दैछ । २ घन्टा ४९ मिनेट लामो ग्रहण त्यस दिन नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेट मध्य र ११ बजेर ३१ मिनेटमा सकिनेछ । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु भई पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुनेछ ।

खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला नेपालको काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिनेछ । मौसम अनुकुल भए, बादल नलागे काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिन्छ ।

यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ । भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ ।

रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ । यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ । ग्रहण लाग्दा रिङ अफ फायर भने प्रायःजसो बीचको समयमा देखिने गर्दछ ।

खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले हेर्न मिल्दैन । नाङ्गो आँखाले ग्रहण हेरे आँखाको ज्योति गुम्न सक्ने वा आँखामा दीर्घकालीन समस्या आउने सक्नेछ । सूर्यग्रहण हेर्नका लागि विशेष प्रकारको सुरक्षित चश्मा लगाउनुपर्छ ।

सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै, त्यसमाथि यति बेला बुध, बृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहनेछन् । जसले गर्दा केही अप्रत्याशित घटनाक्रम बढाउन सक्ने, रोगको संक्रमण बढ्न सक्नेलगायत विपरीत फलको भय हुने गर्दछ । करिब ६ वटा ग्रहहरू एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रूपमा हेरिरहेको छ । विशेषगरि मूल नक्षत्र र धनु राशिका लागि यो सूर्यग्रहण खतरापूर्ण रहेको छ ।

धनु राशीमा लाग्ने ग्रहणको विभिन्न राशीमा पनि यसको प्रभाव पर्दछ । विशेषगरी धनु, वृश्चिक, तुला, सिंह, कर्कट, वृष, मेष, मीन, राशीमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुँदा सावधानी अपनाउँदै ग्रहण हेर्नु हुँदैन । कन्या, मिथुन, कुम्भ तथा मकर राशी हुनेहरूका लागि भने विषेश फाइदा रहने देखिन्छ ।

ग्रहणको फल मेष राशिका लागि मानहानी, वृषका लागि कष्ट, मिथुनका लागि स्त्री पीडा, कर्कटका लागि सुख, सिंह राशिका लागि चिन्ता र कन्या राशिका लागि रोगको भय छ ।

यसैगरी तुला राशिका लागि श्रीप्राप्ति, वृश्चिकका लागि क्षति, धनुका लागि घात, मकरका लागि व्यय, कुम्भका लागि लाभ र मीनका लागि सुख फल दिनेछ ।

ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने सुतक लाग्ने हुँदा पुस ९ गते राति ८ बजेर ४२ मिनेटबाटनै बालक, वृद्ध तथा रोगीबाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८:४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध छ । ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

के हो सूर्यग्रहण ?
सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ । भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन , त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ । त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ । यस घटनालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहणको घटना सदासर्वदा अमावश्या तिथिमा नै पर्दछ ।

धेरै जसो चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्दछ । यो स्थितिलाई खण्डग्रास ग्रहण भनिन्छ । कहिले कहीँ मात्र चन्द्रमाले सूर्यलाई पूरा छेक्दछ । यसलाई पूर्ण ग्रहण अथवा खग्रास ग्रहण भनिन्छ ।

पूर्णग्रहण धर्तीको धेरै कम क्षेत्रमा मात्र देख्न सकिन्छ । अधिकतम २ सय ५० किलोमिटरको सम्पर्कमा मात्र पूर्णग्रहण देख्न सकिन्छ । यस क्षेत्र भन्दा बाहिर खण्डग्रास ग्रहण मात्र देखिन्छ ।

पूर्णग्रहणको समयमा चन्द्रमालाई सूर्यको अगाडिबाट जानमा २ घण्टाको समय लाग्दछ । चन्द्रमाले सूर्यलाई अधिकतम, सात मिनटसम्म पुरा छेक्दछ । यसबखत केही आकाशमा केही समयको अँधेरो हुन जान्छ, या दिनमा रात भएको जस्तै महसूस हुन्छ ।

भिडियोमा पनि हेर्नुहोस्