पाटन, चौतारी, धाराहरु रहेको पोखराको पुरानो स्वरुप फेरिइसकेको छ । बचेखुचेका चौतारी, पाटनहरु पनि विभिन्न वाहानामा मासिँदै छन् ।
यस्तो परिवेशमा पोखरा नयाँबजारका बासिन्दाले भने जनस्तरबाटै स्रोत जुटाएर चौतारी र ढुंगेधारा संरक्षण गरेका छन् । २ सय ८१ वर्षका पुरानो चौतारो र ढुंगेधारो स्थानीयले निर्माण गरेका छन् ।
दमकल मार्गका २ को चौतारो र पुरानो बालधारोलाई ढुंगेधारामा रुपान्तरण गरी संरक्षण गरिएको हो । पोखरा महानगरका मेयर मानबहादुर जिसीले चौतारो र धारो उद्घाटन गरे । उनले समुदायको अग्रसरतामा महत्वपूर्ण काम भएको बताए । यस्ता कामको अनुशरण गर्न आग्रह गर्दै उनले सरस्वती मन्दिर र बहुउद्देश्यीय सामाजिक भवन निर्माणका लागि पनि सहयोग गर्ने आश्वासन दिए ।
नयाँबजार सरस्वती मन्दिर, बहुउद्देश्यीय सामाजिक भवन तथा चौतारो संरक्षण एवं पुननिर्माण समिति कोषाध्यक्ष टीकाराम सुवेदीले ८ लाख १ हजार ३ सय ४७ लागतमा २ चौतारा एवं ढुंगेधारा निर्माण गरिएको बताए । गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले जीर्ण चौतारोलाई मौलिकता दिएर संरक्षण गरिएको उल्लेख गरे ।
पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले ऐतिहासिक चौतारोको संरक्षण गर्न वडाले २ लाख सहयोग गरेको उल्लेख गरे । नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेलले ऐतिहासिक चौतारा र पोखरीको संरक्षण गर्नुपर्ने बताए । निर्माण समिति संयोजक मीलन थापाले धार्मिक र वातावरणीय दृष्टिले महत्वपूर्ण चौतारा र सम्पदा संरक्षणका लागि अभियान थालेको बताइन् ।
कार्यक्रममा ज्येष्ठ नागरिकहरु मानबहादुर थापा, टीका थापा र हर्कबहादुर गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरियो । चौतारो निर्माणका लागि १ लाख ५० हजार सहयोग गर्ने खडकबहादुर गुरुङ र १ लाख १सय ५१ सहयोग गर्ने जयबहादुर गुरुङ पनि कार्यक्रममा सम्मानित भए
सो अवसरमा गण्डकी विकास बंैकका प्रमुृख कार्यकारी अधिकृत रेशमबहादुर थापा, पोखरा महानगरपालिका ९ का वडा सदस्य गीता चर्मकार, निर्माण समिति अध्यक्ष रामबहादुर केसी, सचिव धीरज थापा लगायतले बोलेका थिए ।






