नेपाल वितरक महासंघका अध्यक्ष सुरेश अधिकारीले उद्योगी, व्यवसायीलाई त्रासमा राखेर मुलुक चल्न नसक्ने बताएका छन् । अधिकृत विक्रेता संघ (ड्याप) पोखराको १३ औं साधारणसभा तथा सातौं महाधिवेशन उद्घाटन गर्दै अधिकारीले सरकार र व्यवसायीबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । उनले सरकारले व्यवसायीलाई त्रासमा राखेर मुलुक संचालन गरिरहेको भन्दै व्यवसायमिैत्री वातावरण बनाउन आवश्यक रहेको बताए ।
‘व्यवसायी पहिला गुण्डागर्दी गर्नेसँग डराउनु पथ्र्यो तर अहिले सुरक्षा दिने राज्यसँगै डराउनुपर्ने अवस्था आएको छ’, उनले भने, ‘यस्तै अवस्था अझै कायम रहेमा मुलुक धेरै दिन चल्न सक्दैन ।’ उद्योगी, व्यवसायीले तिरेको कर कार्यकर्ता भरणपोषणमा खर्च भएको तर व्यवसायीमैत्री वातावरणका लागि कुनै पनि गतिविधि हुन नसकेको उनले दुखेसो गरे । व्यवसायी अब हेपिएर, डराएर होइन एकतावद्ध भई डटेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष विन्दु कोइराला सुवेदीले सरकारले नयाँ नीति ल्याउँदै गर्दा सम्बन्धित सरोकारवालासँग सरसल्लाह गरेर मात्रै ल्याउनुपर्नेमा जोड दिइन् । राज्यले व्यवसायीलाई सधैं पेल्ने काममात्र गरेको भन्दै उनले यस्ता समस्या विरुद्ध व्यवसायी एकता आवश्यक भएको बताइन् । संस्थाका कानुनी सल्लाहकार जगन्नाथ ढकालले व्यवसायी अत्यन्तै चनाखो भएर काम गर्नुपर्ने र राज्यका नीति नियम राम्रोसँग बुझ्नुपर्नेमा जोड दिए ।

नेपाल वितरक महासंघका सचिवालय सदस्य दुर्गाराज श्रेष्ठले व्यवसायीलाई सधैं पेलिरहने राज्यको नीति ठीक नभएको भन्दै यसलाई सच्याउन सबै सरोकारवालाको ध्यान जानुपर्ने खाँचो औंल्याए । संघका अध्यक्ष हरिराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष बलराम तिमिल्सिना, संघका वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ, महासचिव मनोज श्रेष्ठ लगायतले बोलेका थिए ।
अधिकृत बिक्रेता संघ (ड्याप) पोखराले नेपालदुतका कार्यकारी सम्पादक हरि पन्तलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट संघका साथै समाजलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा पत्रकार पन्तलाई सम्मान गरिएको हो । उनलाई नेपाल वितरक महासंघका अध्यक्ष सुरेश अधिकारी र संघका अध्यक्ष हरिराज पन्तले सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका हुन् ।
उक्त अवसरमा संघका ज्येष्ठ सदस्य अशोक कुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । गत वर्षको एसइई परीक्षामा उत्तीर्ण संघमा आवद्ध सदस्यका छोराछोरीलाई पनि सम्मान गरियो । सम्मानित हुनेमा क्षितिज पन्त, निश्चल पौडेल, आदित्य प्रजू र सुलभ झा छन् ।




