मापसे गर्ने १ प्रहरी बर्खास्त र १ नियन्त्रणमा

मापसे जाँच गर्ने प्रहरीले नै मापसे गरे के होला ? पोखरामा मापसे गर्ने १ प्रहरी सेवाबाट वर्खास्त भएका छन् भने अर्का १ जनालाई सर्वसाधारणले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

पोखरा २९ तालचोकमा ड्युटीमा रहेका प्रहरी हबल्दार भीमबहादुर यादव मादक पदार्थ सेवन गर्दै सवारी चेकजाँच गर्दा सर्वसाधारणले घेरेर प्रहरीलाई बुझाएका हुन् । स्कुटर रोकेर चेकजाँच एवं सोधपुछ गर्ने क्रममा यादवको मुखबाट रक्सीको गन्ध आएको र त्यसपछि नजिकै रहेका स्थानीयलाई खबर गरेको स्कुटर चालक रञ्जु गुरुङले बताइन् ।

यता, पोखराको बगरमा मापसे गरी सवारी चेकजाँच गर्ने प्रहरी हबल्दार बर्खास्त भएका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएका प्रहरी हबल्दार ओमबहादुर कार्कीलाई प्रहरी सेवामा प्रवेश नपाउने गरी बर्खास्त गरिएको स्रोतले जनाएको छ ।