विरुवा गण्डकी प्रदेशको उत्कृष्ट सहकारी

पोखरा १७ मा रहेको विरुवा बचत तथा ऋण सहकारी गण्डकी प्रदेशकै उत्कृष्ट सहकारी बनेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार काठमाडौंमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको १६ औं साधारणसभामा विरुवा सहकारीका अध्यक्ष चित्रराज बराललाई सम्मानपत्र प्रदान गरे । २०६७ मा स्थापना भएको विरुवा सहकारीमा ६ सय ४८ सेयर सदस्य छन् ।

अर्थमन्त्री डा. खतिवडाले सहकारीहरु सिद्धान्त अनुरुप चल्नुपर्नेमा जोड दिए । उनले सहकारी अर्थतन्त्रको तेस्रो खम्बा भएकाले समृद्ध नेपालका लागि योगदान गर्न सक्ने सक्षम, चुस्त र सबल भएर उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरे । कार्यक्रममा उनले विभिन्न प्रदेश र विभिन्न क्षेत्रमा उत्कृष्ट सहकारीहरुलाई पनि सम्मान गरे ।

विरुवा सहकारीका अध्यक्ष बरालले स्थापनाको छोटै समयमा उत्कृष्ट सहकारी बनाउन सञ्चालक समिति, सेयर सदस्य र कर्मचारीको एकीकृत प्रयासले काम गरेको बताए । उनले नेपालकै उत्कृष्ट सहकारी बनाउने लक्ष्यसहित क्रियाशील हुने प्रतिवद्धता जनाए । विरुवाको ९ सदस्यीय टोली समारोहमा सहभागी भएर पोखरा फर्किएको छ ।