एकै रातमा ३ महिला बलात्कार गर्ने युवा पक्राउ

एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपश्चिम आठबीस नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसी रहेका छन् ।

पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । केशवले मंसिर २७ गते राति पति घरमा नभएकी ४० वर्षीया महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए ।

सोही रात घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ । केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन् ।

प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। पीडित तीनै महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।