हाकाहाकी धर्म परिवर्तन दण्डनीय बनेपछि इसाई धर्म प्रचारकहरुले अनेक हथकन्डा अपनाउन थले । शैक्षिक संस्था, स्वास्थ्य संस्था खोलेर सुविधा दिने नाममा होस् कि गैरसरकारी संस्था खोलेर सहयोग गर्ने नाममा, यो क्रम चलिरहेकै छ ।
सच्चाईको सत्संग नाममा पोखरामा धर्म परिवर्तन गर्ने र मानिसको जीवनै जोखिममा पार्ने क्रम चलिरहेको छ । हिन्दु, बौद्ध धर्म परिवर्तन गर्न नपर्ने, सबै मान्न मिल्ने र प्रभुको भजन गाए रोग निको हुने भ्रम छारिएको छ । सच्चाईको भ्रमपूर्ण कार्य बढ्दै गएपछि विकृति फैलाईएको भन्दै टोल विकास संस्थाहरु यसको विरोधमा उत्रिएका छन् ।
आधा दजर्नभन्दा बढी वडामा विना दर्ता गैरकानूनी रुपमा सञ्चालित त्यस्तो संस्थाले ध्वनी प्रदुषण गर्नुका साथै सर्वसाधारणलाई प्रलोभनमा पार्ने तथा क्रिश्चियनका गतिविधिलाई अघी बढाउँदै समाजलाई खलल पु¥याउने कार्य गर्दै आएकाले अव आइन्दा त्यस्ता संस्था दर्तासमेत नगर्न र गैरकानूनी कार्य रोक्न टोल विकास संस्थाहरुको माग छ ।
मंगलबार उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा निवदेन दर्ता गराउँदै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए । पोखरा ८ को लालीगुुँरास टोल विकास संस्था, कुँबर टोल विकास संस्था, वडा नं १२ को आदर्श समाज सामाजिक संस्था, पोखरा १७ को सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर, माछापुच्छ«े टोल विकास संस्था, पिपलडाली टोल विकास संस्था लगायत एक दर्जनभन्दा बढी संस्थाले प्रशासनलाई छुट्टाछुट्टै निवदेन दर्ता गरी ध्यानाकर्षण गराएका हुन् ।

सच्चाइ नामको संस्थाले ध्वनी प्रदुषणका साथ सामाजिक सद्भाव खलल पु¥याउने, वाइवल पढाउने, प्रार्थनाले सबै रोग निको हुन्छ भन्दै दीर्घ रोगीहरुलाई औषधी सेवन गर्नबाट बञ्चित गराउँदै मृत्युको मुखमा पु¥याउने जस्ता कार्य गर्दै आएकाले तुरुन्त बन्द गर्न प्रशासनलाई अनुरोध गरिएको छ ।
केही दिनअघि वडा नं ११ र १२ को बीचमा एक घरमा सञ्चालन गरिदै आएको सच्चाई केन्द्रलाई स्थानीयले बन्द गराएका थिए । केही महिनाअघि पोखरा १७ महतगौंडाको सच्चाइ केन्द्र पनि स्थानीयले बन्द गराइदिएका थिए ।




