वीरगञ्जको २४ बहुअरीकी एक महिलाले सौताको छोरी सिध्याउन तरकारीमा विष हाल्दा उल्टै आफ्नो ज्यान गएको छ । विष हालिएको तरकारी खाँदा परिवारका अन्य पाँच जना भने सिकिस्त बिरामी परेका छन् ।
बहुअरीका जगदीश कुर्मीको कान्छी श्रीमति राधिका देवी र जेठी श्रीमतिकी छोरी मनिषा पटेलबीच झगडाहुदा राधिकाले सोमबार राति खाना पकाउने क्रममा तरकारीमा अल्मुनियम फस्फेट नामक विषादी हालेकी थिइन् । विषादी हालेर पकाइएको तरकारी राधिका आफैले पनि खानुका साथै परिवारका सदस्यलाई पनि खुवाएको पाइएको प्रहरीले जनाएको छ ।
विषादी हालेर पकाइएको तरकारी खाए लगत्तै गम्भीर बिरामी परेका राधिका देवीको उपचारको क्रममा ज्यान गएको हो । बिषादी राखेको तरकारी खादा राधिका देवीको छोरा तीन वर्षीय विवेककुमार र सौताका छोरा २० वर्षीय राकेश पटेल, १७ वर्षीय विकास पटेल र १४ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनिषा पटेल बिरामी छन् । बिरामी पाँच जनाको वीरगञ्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष ९आइसीयु० मा उपचार भइरहेको छ ।
जेठी श्रीमतिको मृत्युपछि १५ बर्ष पहिले कान्छी श्रीमतिका रुपमा राधिकालाई भित्र्याएको जगदीश परवानीपुरको कपडा उद्योगमा काम गर्छन । सोमबार राति घर नआई उद्योगमै बसेका कारण उनलाई भने केही नभएको अनुसन्धानबाट खुलेको छ ।






