पिपिएल : मौसमका कारण खेल १७ ओभरमा झारियो, धनगढी बलिङमा

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (बुधबार) हुने पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्स र धनगढी ब्लुजबीच प्रतिस्पर्धा गर्दैछ ।  

पोखरा क्रिकेट रंगशालामा बिहान ९ बजे सुरु हुने भनिएको खेलमा खराव मौसमका कारण टस हुन ढिलाई भएपछि खेल १७ ओभरको हुने भएको छ ।

प्रतियोगिताको दोस्रो खेल खेलेको धनगढीले टस जितेर पहिले बलिङ गर्ने भएको छ । काठमाडौंले धनगढीविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ ।

पहिलो खेलमा पल्टनसँग पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटवल बलास्टर्ससँग सुपर ओभरमा पारजित भएको थियो । त्यसैले काठमाडौंका लागि आजको खेल महत्वपूर्ण रहेको छ । 

उता धनगढी लगातार दोस्रो जितको खोजिमा हुनेछ । धनगढीले पहिलो खेलमा विराटनगर वारियर्सलाई पाँच रनले पराजित गरेको थियो ।

प्रतियोगितामा मात्र एक खेल खेलेको धनगढीको दुई अंक छ । उता दुई खेल खेलेको काठमाडौंले अंक जोड्न भने सकेको छैन ।