जाडोको लुगा ( लघुकथा )

पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको ! यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्यो….। रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो ।

….यसको मूल्य अठार हजार , यसको बाह्र हजार , यो पातलोचाहिँको आठ हजार , यो स्वीटरको चार हजार….। रिठ्ठेले दुइपटक बजार परिक्रमा गर्यो र सरासर छेवैको भट्टीमा पस्यो ।

….यो तरल ज्याकेटको साठी रुपियाँ, यो तरल स्वीटरको बीस रुपियाँ यो तरल गलबन्दीको दश रुपियाँ…..। उसले पटुकाको फेरो फुकाउनुपरेन । इष्टकोटको भित्री गोजीबाट एउटा हरियो नोट निकाल्यो र नशा-नशामा ज्याकेट स्वीटर, गलबन्दी….बोकेर घर फर्कियो ।