पिपिएलमा आज २ खेल : काडमाडौंले जित्नैपर्ने

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (बुधबार) दुई खेल हुँदैछ । पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सले धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्दैछ ।  

पोखरा क्रिकेट रंगशालामा बिहान ९ बजे सुरु हुने आजको पहिलो खेलमा काठमाडौंलाई जित्नैपर्ने दबाब छ ।

पहिलो खेलमा पोखरा पल्टनसँग पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पारजित भएको थियो । 

उता धनगढी लगातार दोस्रो जितको खोजिमा हुनेछ । धनगढीले पहिलो खेलमा विराटनगर वारियर्सलाई पाँच रनले पराजित गरेको थियो ।

प्रतियोगितामा मात्र एक खेल खेलेको धनगढीको दुई अंक छ । उता दुई खेल खेलेको काठमाडौंले अंक जोड्न भने सकेको छैन ।

आजको खेलमा पराजित भए काठमाडौंको फाइनल प्रवेशको सम्भावना कम रहनेछ ।

काठमाडौं राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा हुनेछ भने धनगढी राष्ट्रिय टोलीका उपकप्तान रहेको दिपेन्द्र ऐरीको कप्तानीमा रहनेछ । 

आजनै हुने अर्काे खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनको सामना गर्ने छ । दिउँसो १२ः१५ मा हुने खेलमा दुबै टोली जितको खोजिमा हुनेछन् ।

पोखराले पहिलो खेलमा काठमाडौंलाई हराएको पोखरा दोस्रो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।