पोर्चुगलमा ८ दिनभित्र तीन नेपालीको मृत्यु भएको छ।
पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा मृत्यु भएको हो । सपरिवार पोर्चुगल बस्दै आएका थापाको हृदयाघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
थापाको अन्तिम दाहसंस्कार पोर्चुगलमै गरिने एनआरएनए पोर्चुगलका सचिव यमेन्द्र घर्तीमगरले जानकारी दिएका छन्।यसैगरी डिसेम्बर ८ का दिन नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको निधन भएलगत्तै गत मंगलबार करिब १ वर्षअघि पोर्चुगल आएका पोखराका २९ वर्षीय युवकको उनकै कोठामा मृत्यु भएको छ ।
युवकको शव परीक्षण रिपोर्टमा अत्यधिक मद्यपानका कारण बान्ता गर्दा श्वासप्रश्वास नली बन्द भई अक्सिजनको कमी हुँदा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रवासी नेपाली एकता मञ्चका सदस्य नारायण शर्माले जानकारी दिएका छन्।
मृतकको शव नेपाल पठाउनका लागि प्रक्रिया अगाडि बढाइएको एनआरएनएले जनाएको छ।






