नयाँदिल्लीको एक अदालतले सोमबार पूर्व भाजपा नेता तथा उन्नावबाट सांसद चुनिएका कुलदीप सेंगरलाई सन् २०१७ मा उन्नावमा एक बालिकामाथि अपहरण र बलात्कार गरेको मुद्दामा दोषी करार गरेको छ ।
यद्यपि, यस मामिलामा अर्का आरोपी शशी सिंहलाई भने अदालतले रिहा गरेको छ । यस मामिलामा अगामी डिसेम्बर १८ मा सजाय तोकिनेछ ।
इन्डियन एक्सप्रेसका अनुसार अदालतले आफ्नो फैसलामा भनेको छ, ‘सेंगर एक शक्तिशाली व्यक्ति थिए, पीडित गाउँकै नाबालिक थिइन् न कि एक महानगरीय शिक्षित क्षेत्रकी, जसको करण मामिला दार्ता गर्नुमा ढिलाइ भयो । मैले उनको बयानलाई सत्य पाएँ । यस आरोपमा कुनै सन्देह छैन कि उनीमाथि यौन उत्पीडन भएको थियो र धम्की दिइएको थियो ।’
यसको साथै अदालतले पीडितबिरुद्ध बदलाको कारवाहीबारे उल्लेख गर्दै पीडिताद्वारा उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पत्र लेखेपछि उनको परिवारका सदस्यहरुबिरुद्ध कयौँ मुद्दा दर्ता गरिएको पनि बताएको छ ।
अदालतले यस मामिलाको आरोप पत्र दायर गर्नमा ढिलाइ गरेकोमा सीबीआईको पनि आलोचना गर्दै उसकै करण सेंगरबिरुद्ध मुद्दा दर्ता गर्न ढिलाइ भएको बताएको छ ।
समाचार एजेन्सी पीटीआइका अनुसार फैसला सुनाएपछि सेंगर अदालतमा नै रुन थालेका थिए । उनी आफ्नो बहिनीको नजिक बसेर रोएको समाचारमा उल्लेख छ ।
जिल्ला न्यायाधीश धर्मेश शर्माले सेंगरलाई आईपीसी र पाँक्सो ऐन अन्तरगत लोकसेवकको पदमा रहँदा एक बालिकामाथि क्रुर यौन उत्पीडन अपराध गरेको भन्दै बलात्कारमा दोषी करार गरे । यस्तो अपराधमा अधिकतम जन्मकैदको सजायको प्रावधान छ ।
सेंगरले सन् २०१७ मा त्यतिबेला नाबालिक रहेकी किशोरीमाथि बलात्कार गरेका थिए । अहिले ती किशोरीको उमेर १९ वर्ष भएको छ ।
लामो समय बलात्कारको मुद्दा दर्ता नभएपछि पीडित उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको घर बाहिर पुगेर आत्मदाह गर्ने धम्की दिएकी थिइन् । गत वर्ष अप्रिलमा सेंगरलाई प्रहरीले पक्राउ गरेको थियो ।
गत २८ जुलाईमा उत्तर प्रदेशको रायबरेली जिल्लामा भएको सडक दुर्घटनामा पीडित किशोरी गम्भीर घाइते भएकी थिइन् । पीडित सवार कारलाई एक ट्रकले ठक्कर दिएको थियो । उक्त दुर्घटनामा पीडितका दुई आफन्तको मृत्यु भएको थियो भने वकिल पनि गम्भीर घाइते भएका थिए ।
दुर्घटना हुँदा पीडितको सुरक्षामा तैनाथ प्रहरी उनको साथमा थिएनन् । ती सुरक्षाकर्मीहरुलाई निलम्बित गरिएको थियो ।
दुर्घटनाको दुई दिनपछि ३० जुलाईमा सीबीआईले सेंगर, उनको भाई मनोज सिंह सेंगर, उत्तर प्रदेशका एक मन्त्रीका ज्वाइँ अरुण सिंह लगायत सातजना बिरुद्ध मुद्दा दर्ता गरेको थियो । पीडितसँग भएको दुर्घटनामा विधायक कुलदीप सिंह सेंगर समेत १० जनालाई आरोपी बनाइएको थियो ।




